काठमाडौं, मंसिर २० : विश्वमै लोकप्रिय चिनियाँ मोबाइल कम्पनी हुवावेको उपप्रमुख क्यानडामा पक्राउ परेकी छन् । हुवावेको आर्थिक विभाग प्रमुखसमेत रहेकी मेङ वाङचुलाई भ्यानकोभरबाट पक्राउ गरिएको हो ।
उनलाई अमेरिकामा पठाउने प्रक्रिया चलिरहेको बीबीसीले जनाएको छ । मेङ यही डिसेम्बर १ तारिखमै पक्राउ परेकी थिइन् । तर, यो कुरा अहिले मात्र सार्वजनिक भएको छ ।
व्यापारिक विषयलाई लिएर अमेरिका र चीनबीच द्वन्द्व चलिरहेको बेला मेङको पक्राउलाई अर्थपूर्ण मानिएको छ ।
पक्राउ गर्नुको विस्तृत कारण सार्वजनिक भइसकेको छैन । तर अमेरिकाले हुवावेमाथि इरानविरुद्ध लगाइएको प्रतिवन्ध उल्लंघनबारे अनुसन्धान गर्दै आएको थियो ।
अमेरिकी सांसदहरूले हुवावेका उत्पादनहरू चिनियाँ सरकारद्वारा जासुसीका लागि प्रयोग भएको हुनसक्ने आशंका गर्दै आएका छन् र सो कम्पनी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको जिकीर गर्दै आएका छन् ।
ओटावास्थित चिनियाँ दूतावासले मङले कुनै पनि अमेरिकी वा क्यानेडेली कानुनको उल्लंघन नगरेको भन्दै तत्काल रिहाइ गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस