आज:  २०८१ भाद्र ३०, आईतबार | Sun, 15, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गृहमन्त्रीकै अगाडि पूर्वलडाकूले विष पिएपछि मन्त्रालय प्रवेशमा कडाइ

AuthorAP Khabar २०७५ मंसिर २१, शुक्रबार ( ५ साल अघि) ४९६ पाठक संख्या

 काठमाडौं , मंसिर २१ :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै अगाडि एक पूर्वलडाकुले विष सेवनको प्रयास गरेपछि गृहमन्त्रालय प्रवेशमा सर्वसाधारणलाई कडाइ गरिएको छ ।

यसअघि ५ मंसिरमा मन्त्रीको कार्यकक्षभित्रै पूर्वलडाकु कालिकोटका कुलप्रसाद भट्टराईले विष सेवनको प्रयास गरेपछि मन्त्रालय प्रवेशमा कडाइ गरिएको हो । मन्त्री बादलकै अगाडि उनले विष सेवन गर्न नपाए पनि कार्यकक्षमा छिर्नुअघि नै उनले विष सेवन गरिसकेको खुलेको थियो । हाल नेपाल प्रहरी अस्पतालमा उपचारपछि उनको डिस्चार्ज भइसकेको छ ।

घटनापछि त्यहाँ रहेका सुरक्षा निकायका अधिकारीहरुलाई सर्वसाधारणलाई मन्त्रालय प्रवेशमा कडाइ गर्न निर्देशन दिइएको स्रोतको भनाइ छ ।

अहिले सिंहदरबार छिर्नुअघि पास देखाएर गृहको गेटमा पुगेका व्यक्तिलाई त्यहाँ पुनः परिचय पत्र देखाउन लगाइन्छ । त्यसपछि भेट्नु पर्ने व्यक्तिसँग फोन गरेपछि मात्रै भित्र जाने अनुमति दिइन्छ । भित्र विद्युतीय सुरक्षा बारबाट कटिसकेपछि व्यक्तिगत विवरणको रेकर्ड राखिन्छ ।

अन्तिममा फेरि बर्दीधारी सुरक्षाकर्मीले सर्वसाधारणको खनतलासी पनि लिने गरेका छन् । जसका कारण मन्त्रालय जाने सर्वसाधारणले सास्ती भोग्नु परेको छ । त्यति मात्र होइन, समाचार संकलनका लागि मन्त्रालय जाने सञ्चारकर्मीहरुलाई पनि मन्त्रालय प्रवेश सहज छैन ।

मन्त्रालयका एक अधिकारी भन्छन्, ‘विष काण्डपछि यो सिस्टम लागू भएको हो । धेरै मान्छे नआउन् भन्ने नै उद्देश्य हो ।’

त्यसो त सामान्य कामका लागि पनि मन्त्रालय धाउनेको लस्करै लाग्ने छ । ‘सानोभन्दा पनि सानो प्रकृतिको काम लिएर यहाँको काम कारबाहीमा पनि असर पार्ने गरी मानिसहरु आउँछन् । त्यसैले मन्त्रालय प्रवेशमा कडाइ गरिएको हो ।’, सचिवालयका एक अधिकारीले अनलाइनखबरसँग भने ।

प्रतिक्रिया दिनुहोस