आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भरतपुरमा गणेशधाम बनाउन महायज्ञ, व्यवसायी दिनेशले दिए १ करोड १ लाख !

AuthorAP Khabar २०७५ मंसिर २४, सोमबार ( ५ साल अघि) ४४८ पाठक संख्या

 चितवन , मंसिर २४ :  चितवनको भरतपुर महानगरपालिका–११ को गणेशस्थानलाई ‘गणेशधाम’ बनाउन व्यवसायी दिनेश चुके एक्लैले १ करोड १ लाख दान दिएका छन् ।

चितवनलाई आधार बनाएर लामो समयदेखि जग्गाको कारोबार गर्दै आएका व्यवसायी चुके गणेशधाममा शनिबारदेखि सुरु महायज्ञ मूल आयोजक समितिका संयोजक पनि हुन् । एक करोड बढी दान गर्ने चुकेलाई आज सोमवार एक भव्य समारोहबीच सम्मान गरिने आयोजक समितिले जानकारी दिएको छ ।

उनले जिल्लाकै एक प्रतिष्ठित धाम बनाउनका लागि मन खोलेर सहयोग गरेको बताए । ‘मेरो जीवनको एक अभिन्न अंग नै गणेशस्थान भएकोले धाम बनाउन दान गरेको हुँ, अरुलाई पनि हौसला मिलोस्, उर्जा थपोस्’, उनले भने । आउँदा वर्षहरुमा पनि धामलाई सहयोग गर्दै जाने प्रतिबद्धता उनले जनाए ।

महायज्ञमा अर्का जग्गा व्यवसायी बाबुराम अधिकारीले २२ लाख २२ हजार २ सय २२ रुपैयाँ दान गरेका छन् । पहिलो दिनमै १ करोड २८ लाख रकम संकलन भएको संयोजक चुकेले जानकारी दिए ।

आगामी मंसिर २९ गतेसम्म सञ्चालन हुने ज्ञान महायज्ञमा युवा वाचक पण्डित दिनवन्धु पोखरेलले प्रवचन दिइरहेका छन् । गणेस्थानलाई गणेशधाम निर्माण गर्ने उद्देश्य राखेर महायज्ञ लगाइएको हो । महायज्ञबाट करिब २० करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । गणेशस्थान क्षेत्रलाई धामको रुपमा विकास गर्न १४ लाखको लागतमा डीपीआर निर्माण गरिएको छ ।

डीपीआर अनुसारको धाम निर्माण गर्न करिब ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ बिघा क्षेत्रमा गणेश धाम निर्माण गर्ने योजना छ । २५ विघामा तलाउ मात्रै हुनेछ । जलाशयको वरपर साइकल र पैदल हिँड्ने ट्रयाक बनाइने छ ।

डीपीआर अनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वर्तीको मुर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचनाहरु निर्माण गर्ने योजना छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस