आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेस २४ वर्षपछि ब्युँझियो, राम्रै भोः ठाकुर गैरे

AuthorAP Khabar २०७५ मंसिर २४, सोमबार ( ५ साल अघि) ५५२ पाठक संख्या

 मंसिर २४ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको छ । नेकपाभित्रका आन्तरिक असहमतिका कारण केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाडफाँट गर्न सकिएको छैन । एकता प्रक्रियामा समेत मतभेद देखिएको छ । नेकपाको सरकारले जसरी लोकप्रियता हासिल गर्नुपर्ने हो, त्यो देखिएको छैन । एकीकरणका बेला ‘जेट विमान’मा दुई पाइलट रहने उद्घोष गर्नुभएका प्रधानमन्त्री ओलीलाई विमान बिग्रियो कि ? पाइलट बुढा भए ? भन्ने समय आएको नेकपाकै नेताहरु बताउँछन् । के हो नेकपाको समस्या ? कहिले र कसरी सुल्झिन्छ ? नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेसँग गरिएको सम्वाद ।

पार्टी एकीकरण भएको ७ महिना पुग्नै लाग्यो, एकीकरणका बेला प्रधानमन्त्रीले भन्याजस्तो दुई पाइलटको जेट विमान राम्रै चलिरहेको जस्तो लाग्छ तपाईंलाई ?
राम्रै चलेको छ । अझै तेज रुपमा चलाउनुछ । पछिल्लो समय पार्टी एकीकरणमा देखिएका गतिरोधलाई अन्त्य गर्दै अझै परिष्कृत ढङ्गले पार्टीलाई मजबुद बनाउनु छ । ९–१० महिनामा आकाशै पल्टाउन सकिन्छ भन्ने भ्रमबाट मुक्त हुनु जरुरी छ । सरकारले विभिन्न अवरोधका बाबजुद आफ्नो कार्यदिशा राम्रै ढङ्ले अगाडि बढाएको छ । केही अप्ठ्याराहरु देखिएका छन् । समाधान गर्दै लैजाने हो । सरकारका कामप्रति जनताका गुनासालाई सम्बोधन गर्दै जाने विषय पनि छदैँछ ।

तपाईं आफू त आधिकारिक जिम्मेवारीविहीन हुनुहुन्छ नि ? जिम्मेवारीविहीन भएर पार्टी नेता भनिइरहँदा कस्तो हुँदो रहेछ ?
तपाईंले राम्रो प्रश्न गर्नुभयो । तर, म जिम्मेवारीविहीन होइन । पार्टीले खटाएको जिम्मेवारीमा हामीले लाग्नु पर्छ । हामीले सरकारलाई सहयोग गरिरहेकै छौँ । केही समय यता पार्टी पंक्तिमा देखिएको मतभेद सामान्य हो । पार्टीलाई सञ्चालन गर्न आवश्यक प्रक्रिया विधिविधानमा जानु जरुरी हुन्छ । सबैका इच्छा आकांक्षा समान हुँदैनन् । धरै विषयलाई मिलाउन पार्टीको तल्लो तहबाट दबाब दिन जरुरी हुन्छ ।

तपाईंहरु २२ जनाले नेतृत्वको मनोमानीविरुद्ध ज्ञापनपत्र नै बुझाउनुभयो, साँच्चै पार्टीकै लागि सोच्नु भएको हो कि मैले पाइनँ भन्ने असन्तुष्टि हो ?
हामी अहिले २२ जना मात्रै होइनौँ । ४५ भन्दा बढी केन्द्रीय सदस्यहरुले जिम्मेवारी बाडफाँटमा नेतृत्वलाई दबाब दिएका छौँ । अब बस्ने २९ गतेको स्थायी कमिटी बैठकले एकै दिनमा सबै बिषय सक्छ भन्ने होइन । त्यहाँबाट प्रक्रिया प्रारम्भ हुन्छ । आशा छ, केन्द्रीय सदस्यहरुको बाडफाँट र एकीकरण प्रक्रियाले सार्थकता पाउनेछ । बैठक, बहस नभइकन निष्कर्षमा पुग्नै सकिन्न । त्यही भएर हामीले बैठक आह्वान गरेका हौँ ।

तपाईंले भनेजस्तो, मैले जिम्मेवारी पाइनँ, म बेरोजगार भएँ भन्ने पनि होइन । आफूलाई अनुशासित र पार्टीप्रति उत्तरदायी बनाउन जिम्मेवारीको खाँचो पर्दोरहेछ । फेरि हामीले केही नगरेको भन्ने होइन । पार्टी र सरकारलाई सफल बनाउन आफ्नो योगदान छदैँछ ।

सरकारकै कामप्रति पनि आमजनता सन्तुष्ट छैनन्, सरकारलाई आफूले ठूलै काम गरेको दम्भ छ, तपाईंलाई के लाग्छ ?
तपाईं भन्नुभएको ठीकै हो, तर सरकारले काम गर्ने क्रममा देखिएका गतिरोधको समीक्षा गर्न जरुरी छ । बिग्रिएको सिस्टम एक लेभलमा ल्याउन पक्कै सकस हुन्छ । जताततै निराशा छाएको अवस्थामा सरकार जनमुखी बन्न प्रयत्न गर्दैछ । ससाना एजेन्डा लिएर सरकारलाई फेल गराउन देशीविदेशी तत्वहरु सक्रिय बनेका छन् । उनीहरुले देश हितका मुद्दाभन्दा पनि देशलाई अशान्तिको बाटोमा डो¥याउने एजेन्डा बोकेका छन् । मुलुक बनाउनलाई प्रतिपक्षको उत्तिकै भूमिका रहन्छ । तर, प्रतिपक्षले अकस्मात हुने घटना र भवितव्यमा आइपर्ने समस्या समाधान गर्नुको साटो राजनीतिकरण गराएर उपद्रो मच्चाएको तपाईंले देख्दै हुनुहुन्छ ।

सरकारलाई मैले सहयोग गरिनँ कि भन्ने लाग्दैन ? तपाईं त जिम्मेवारीमै अल्झिनु भयो ?
छैन । सरकारलाई सहयोग नगरेको भन्ने कहाँबाट आयो ? सहयोग गरेकै छौँ । पार्टीभित्रका आन्तरिक विषयमा नेतृत्वलाई ध्यान भएन भन्ने हो । हामी पनि पार्टीप्रति त्यतिकै जिम्मेवार छौँ ।

कांग्रेसको आर्थिक नीति प्रस्तावित भयो, त्यो त नेकपाको भन्दा बढी समाजवादी देखिन्छ, तपाईंहरुले आफूलाई कम्युनिष्ट पार्टी भनिरहँदा अब कस्तो दबाब महसुस गरिरहनुभएको छ ?
कांग्रेसले अहिले आएर थाहा पायो, हामीले २०५१ मै थाहा पाइसकेका थियौँ । मनमोहन सरकारको पालादेखि शुरु भएको वृद्धभत्ता होस् या अन्य स्वरोजगारका कार्यक्रम हुन् । यी हाम्रो प्राथमिकतामा सधैँ परेका छन् । अमुक पार्टीहरु अहिले आएर ब्युँतिन थालेका छन् । मुलुकलाई समृद्ध बनाउने दिशामा सक्रिय हुनु राम्रो विषय हो नि ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस