आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नुवाकोट दुर्घटना : मृतकको संख्या २० पुग्यो

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (५ साल अघि) ३७७ पाठक संख्या

नुवाकोट  , मंसिर २९ : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ।

घाइते भएका १५ जनाको काठमाडाैंमा उपचार भइरहेको छ।

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

उनका अनुसार उक्त घटनामा तीन महिला र १७ जना पुरुषको मृत्यु भएको हो।

मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान भइसकेको छ।

यसैगरी उपचारका लागि अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङको र उपचारका क्रममा शिक्षण अस्पताल काठमाडाैंमा शुकराम तामाङको मृत्यु भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।

उक्त दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल पठाउन सवारी साधनको अभावले ढिलाइ भएको थियो।

साँझ भएको घटनामा घाइतेको उद्धार राति ८ बजेसम्म गरिएपनि सवारी साधनको अभावले अस्पताल पठाउन राति १० बजेसम्म कुर्नुपरेको उनले बताए।

घाइतेलाई राति अबेर मिनिट्रकमा राखेर पठाइएको र बीच बाटोमा आइपुगेपछि मात्र एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियाे। घाइतेमध्ये आठ जनाको शिक्षण अस्पताल र सात जनाको बिपी स्मृति अस्पतालमा उपचार भइरहेको छ।

ट्रकमा ४० भन्दा बढी यात्रु रहेको र दुर्घटनापश्चात् कोही हामफालेका र कोही मिनीट्रकको पछाडि भएकाले सुरुमा नै खसेर सामान्य घाइते भएका थिए।

सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी भएकासहित अन्य यात्रु बोकेको गाडी घ्याङडाँडामा दुर्घटनामा परेको स्थानीयवासी प्रेम स्याङताङले जानकारी दिए।

कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक सडकबाट करिब ५ सय मिटर तल तादी खोलामा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस