डोटी , मंसिर २९ : केही दिनयता देखिको मौसममा आएको परिवर्तनका कारण डोटीका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ ।
डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेकलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भइ चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको सायलवासी गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “गाई वस्तु चर्ने ठाउँ पूरै हिउँले ढाकेकाले तिनलाई गोठ बाहिर निकाल्नसमेत समस्या भएको छ ।”
हिउँ परेका कारण लगाएको बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै लेकाली क्षेत्रमा बसोबास गर्ने किसान भने खुशी भएका छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ ।
हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको स्थानीयवासी तिलक बोगटीले जानकारी दिनुभयो । हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस