आज:  २०८१ जेष्ठ १०, बिहिबार | Thu, 23, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जग नहसाऊ कांग्रेस

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (५ साल अघि) ९६२ पाठक संख्या
–अशोक रेग्मी

कांग्रेसको मुहान दुषित भएकाले नेता कार्यकर्ता अलमलमा छन् । सामुहिक रुपमा एकतावद्ध भएर देश र जनताका लागि केही गर्ने भन्दा पनि सानो स्वार्थ समूहको चंगुलमा परेकाले कांग्रेस आम जनताको पार्टी  नभइ गुटको पार्टी बनेको छ ।

काठमाडौं , पौष ०३ : गुटलाई एकछिन बिर्सिने हो भने पनि नेपाली कांग्रेसमा तीनथरी प्रवृत्ति हावी छ । पहिलो फाइल बढुवा कांग्रेस । वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र रामशरण महतलगायत नेताहरु तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई फाइल बुझाउँदै बढुवा भएका नेता हुन् । उनीहरु गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी भन्न रुचाउँछन् । जसले आम कार्यकर्ताको भावना भन्दा पनि सीमित घेरामा राजनीति गरेकाले अहिले आफ्नो अस्थित्व टिकाइरहन हम्मे परेको छ ।

दोस्रो छाताधारी कांग्रेस । छाताधारी कांग्रेस जो विगतमा कांग्रेसको जग बसाल्ने नेताहरुको बिरासतमा आफूलाई नेता बनाएका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला बाबुको बिरासतमा सिंगो पार्टी आफ्नो वरिपरी घुमोस् भन्ने चाहन्छन् । आफू पार्टीका महत्वपूर्ण पदमा रहे पनि जनताका लागि सिन्को नभाँचेर बाबुको योगदानको ब्याज मात्र खाइरहेका छन् । देश र जनताका लागि केही गरेर लोकप्रियता कमाउने भन्दा पनि बाबुको विरासतको गुणगान गाइरहेका छन् ।

तेस्रो जुझारु युवाहरु । कांग्रेसमा लागेका युवाहरु देशका लागि स्वच्छ भावनाले काम गर्न चाहन्छन् । जुझारु युवा पार्टीमा निस्वार्थ सेवा गर्न चाहन्छन् । तर शीर्ष नेताहरुले मुहान नै धमिलो पार्ने गरी गुट उपगुट सञ्चालन गरेकाले ती युवा पनि अलमलमा छन् । गगन थापा, गुरुराज घिमिरे र प्रदीप पौडेललगायतका नेताबाट पनि देशले केही आशा र भरोसा गरेको थियो । तर उनीहरु पनि गुटमै रमाउन थालेपछि युवा पुस्ता पनि अबको बाटो के हो भन्नेमा अलमलिएको छ । कांग्रेसको क्रियाशील सदस्य हुन चाहने युवाले पनि कुन गुटको फेरो समातेर घिस्रिनुपर्ने हो, शुरुमै तय गर्नुपर्ने अवस्था आएपछि जुझारु मानिएका युवा नेताबाट पनि मुलुकले खासै भरोसा गरिहाल्ने अवस्था छैन ।

तीनै थरी प्रवृत्तिबाट नेता भएर आए पनि अब तत्कालै उनीहरुमा परिवर्तन आउने सम्भावना छैन । फइल बढुवाहरुले अहिले नै कांग्रेसको नेतृत्व लिइहाल्ने अवस्था छैन । त्यसैगरी, छाताधारीले पनि नेतृत्व लिएर पुर्खाको विरासत हाँक्लान् भन्नेमा कांग्रेसीहरु अहिले नै ढुक्क हुन सकेका छैनन् । यसैगरी जुझारु युवाहरुले पनि नयाँ जोश र जाँगरले पार्टी पंक्तिलाई पृथक बनाउने सपना यथास्थितिमा पूरा हुने अवस्था नै छैन ।

महासमिति बैठकमा देशभरबाट नेता तथा कार्यकर्ता पार्टी सुदृढिकरण बनाउनुपर्ने उपायसहित सुझावका पोका बोकेर काठमाडौंको भद्रकाली नजिकै भेला भएका छन् । धेरै उत्साह र भरोसा लिएर काठमाडौं छिरेका कार्यकर्ता बैठकको उद्घाटन शत्रमा शीर्षतहमा रहेका नेताहरुमा देखिएको तुस र आरोप प्रत्यारोप सुनेर झस्किए ।

यतिबेला, नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको छ । देशभरबाट महासमिति सदस्य बैठकमा सहभागी हुन काठमाडौं भेला भएका छन् । महाधिवेशनपछि शक्तिशाली मानिने कांग्रेसको महासमितिलाई मिनिमहाधिवेसनका रुपमा पनि हेरिन्छ । महासमिति बैठकमा देशभरबाट नेता तथा कार्यकर्ता पार्टी सुदृढिकरण बनाउनुपर्ने उपायसहित सुझावका पोका बोकेर काठमाडौंको भद्रकाली नजिकै भेला भएका छन् । धेरै उत्साह र भरोसा लिएर काठमाडौं छिरेका कार्यकर्ता बैठकको उद्घाटन शत्रमा शीर्षतहमा रहेका नेताहरुमा देखिएको तुस र आरोप प्रत्यारोप सुनेर झस्किए ।

महासमिति बैठकको उद्घाटन शत्रमा नेताहरुमा देखिएको दम्भले कांग्रेस प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसक्ने अवस्थामा पुगेको मान्न सकिन्छ । गुट उपगुटले थलिएको कांग्रेसमा नेताहरुले आफ्नो कमजोरीको मूल्यांकन गर्ने भन्दा पनि अरुको आलोचना गर्नमै धेरै समय खर्चिए । आफ्नो भूमिकामा भएको कमजोरी सुधार्ने वाचा गर्नुको सट्टा संसदमा दुई तिहाइ भन्दा बढीको स्पष्ट बहुमतसहित सरकारमा रहेको नेकपालाई गाली गरेरै कार्यकर्तासामु बहादुरी पोखे । सात दशक इतिहास बोकेको कांग्रेसलाई यति कमजोर भएर प्रतिपक्षीको भूमिकामा बस्नु परेको पीडा नेताहरुले कार्यकर्तासामु पोखे । उनीहरुले प्रतिपक्षीको हैसियत बिर्सिएरै नेकपा नेतृत्वको सरकारलाई गाली गरेर आफ्ना कुण्ठा मात्र देखाए । सिंहदरबारकै अघिल्तिर भेला भएका कांग्रेस नेता कार्यकर्ताले सत्ताबाट बाहिर रहनुपरेको त्यसमा पनि कमजोर भूमिकामा रहेर चिच्याए पनि तर्क र औचित्यहीन भेला र भाषणबाजी मात्र भएको छ ।

कांग्रेसको मुहान दुषित भएकाले नेता कार्यकर्ता अलमलमा परेका छन् । सामुहिक रुपमा एकतावद्ध भएर देश र जनताका लागि केही गर्ने भन्दा पनि सानो स्वार्थ समूहको चंगुलमा परेकाले कांग्रेस आम जनताको पार्टी नभइ गुटको पार्टी बनेको छ । सिद्धान्तको कुरा गरेर नथाक्ने कांग्रेस नेताहरु बिपी कोइराला, सुवर्ण शमशेर, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि र सुशील कोइरालाको गुणगान गाइरहँदा आफ्नो भूमिका र गतिविधिले स्वयम्लाई नै गिज्याइरहेको हुन्छ । तर नेताहरुले त्यसको पत्तो नै पाउँदैनन् । त्यसैले त कांग्रेसहरु जग हसाइरहेका छन् ।

आफ्नो भूमिकामा भएको कमजोरी सुधार्ने वाचा गर्नुको सट्टा संसदमा दुई तिहाइ भन्दा बढीको स्पष्ट बहुमतसहित सरकारमा रहेको नेकपालाई गाली गरेरै कार्यकर्तासामु बहादुरी पोखे । सात दशक इतिहास बोकेको कांग्रेसलाई यति कमजोर भएर प्रतिपक्षीको भूमिकामा बस्नु परेको पीडा नेताहरुले कार्यकर्तासामु पोखे । उनीहरुले प्रतिपक्षीको हैसियत बिर्सिएरै नेकपा नेतृत्वको सरकारलाई गाली गरेर आफ्ना कुण्ठा मात्र देखाए ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस