आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हात्तीले आधा दर्जन घर भत्कायो

AuthorAP Khabar २०७५ पौष ४, बुधबार ( ५ साल अघि) ३९३ पाठक संख्या

सप्तरी ,पौष ०४  :  मंगलबार राति सप्तरीको कञ्चनरुप नगरपालिकामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले  आधा दर्जन घर भत्काएको छ । घर भत्काउनुका साथै हात्तीले अन्नबाली, तरकारी खाएर कुल्चिएर नष्ट पारेको छ ।

कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का रहमान मियाँको घर, मुस्तुफा मियाँको एउटा घर, बौकाको छोरीको घर भत्काउनुका साथै दर्जनौं किसानको अन्नबाली ३ वटा समूहमा आएको जंगली हात्तीले  कुल्चिएर लाखौंको क्षति पुर्यााएको वडा नम्बर १२ का वडा सदस्य मोहम्मद करिमले बताउनुभयो ।

यस्तै, वडा नम्बर ७ मा रहेको माधव खतिवडाको घर, महेश्वर मेहताको घर भत्काउनुका साथै अन्नबाली खाइदिइको छ । यसैगरी वडा नम्बर ७ कै रामधनी महतोको ५ कठ्ठामा लगाएको तरकारी खेती कुल्चिएर नष्ट पारेको स्थानीय महेश महतोले बताउनुभयो ।

यस क्षेत्रमा दिनदिनै हात्तीले आतंक मच्चाउदा स्थानीयहरु रातभर जागै बस्न बाध्य भएका छन् । स्थानीय प्रदीप पोखरेलले भन्नुभयो ‘अन्नपात खाएर र घर भत्काएर नोक्सान पार्छ, कुन बेला ज्यान लिने हो त्यसको कुनै टुंगो छैन ।’ हात्तीको आक्रमणबाट यस नगरपालिकामा विभिन्न समयमा ६ जनाको ज्यान गैसकेको छ भने घाइते भएका केदार साहको उपचार भइरहेको छ ।

त्यसैगरी जङ्गली हत्तीले, सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ मा रहेको जगमोहन नयाँ बस्तीमा  ३ जनाको घर भत्काएको छ । स्थानीय रामसिंह तामाङ्ग, तिलमान तामाङ्ग र सितामाया तामाङ्गको घर भत्काएको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस