काठमाडौं , पुस ६ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका नीतिको विरोध गर्दै अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले राजीनामा दिनुभएको छ । राष्ट्रपति ट्रम्पले बुधबार सिरियाबाट सबै अमेरिकी सैनिक फर्काउने घोषणा गरेलगत्तै रक्षामन्त्री म्याटिसले राजीनामा दिनुभएकोे हो ।
बुधवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय इस्लामिक स्टेट समूह आईएस् पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौजहरू फर्काउने घोषणा गर्नुभएको थियो ।
रक्षा मन्त्री म्याटिस राष्ट्रपति ट्रम्पलाई सो घोषणा फिर्ता लिनका लागि बिहिबार ह्वाइट हाउस गएपनि ट्रम्पले सो घोषणा फिर्ता नलिने अडान राखेपछि उहाँले राजीनामा दिएको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय मोर्चामा आफ्ना मित्रशक्तिहरूलाई सँगै लैजान नसकेको, आफ्ना रणनीतिक प्रतिश्पर्धीहरूलाई चिन्न नसकेको तथा अमेरिकाविरूद्ध काम गरिरहेका शक्तिहरूबारे स्पष्ट दृष्टिकोण राख्न नसकेको आरोप म्याटिसको छ ।
बिहिबार राष्ट्रपति ट्रम्पलाई दिएको राजीनामा पत्रमा म्याटिसले लेख्नुभएको छ ‘तपाईँका धारणासँग विचार मिल्ने रक्षा मन्त्री राख्ने तपाईँको अधिकार भएकाले मैले मेरो पदबाट राजीनामा दिनु उचित हुने ठानेको छु।’
प्रतिक्रिया दिनुहोस