काठमाडौं , पुस ६ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारको कार्यशैलीको विरोध गर्नुभएको छ । उपनेता नेम्वाङले शुक्रबार स्थायी कमिटी बैठकमा सरकार प्रयोग हुनु गलत भएको टिप्पणी गर्नुभयो ।
‘एशिया प्यासिफिक समिटमा सरकार किन प्रयोग भयाे ?’ बैठक संसदीय दलका नेता समेत रहनु भएका प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै नेम्वाङले भन्नुभयो, ‘त्यो घटनाले प्रधानमन्त्री र मन्त्रीहरुको सर्वत्र आलोचना भएको छ । जताततै नकारात्मक टिप्पणी मात्र भएका छन् । त्यसले सरकारलाई फितलो बनाएको छ ।’
नेकपाभित्र प्रधानमन्त्री ओली निकट भनेर चिनिनु भएका नेता नेम्वाङले सरकारको आलोचना गरेपछि बैठकमा सहभागी स्थायी कमिटीका अन्य नेतहरु समेत दंग परे ।
बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति कटाक्ष गर्नुभएको स्रोतले जनाएको छ । अध्यक्षद्वयको प्रतिवेदनप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल , श्रममन्त्री गोकर्ण बिष्ट तथा स्थायी कमिटी सदस्यहरु छविलाल विश्वकर्मा, अमिक शेरचन र मणि थापा लगायत ७ जनाले आफ्नो धारणा राख्नुभएको छ ।
अर्को बैठक शनिबार बिहान साढे ८ बजे बस्ने कार्यालयसचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस