आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भूपि काव्य पुरस्कार कवि तीर्थ श्रेष्ठलाई

AuthorAP Khabar २०७५ पौष ६, शुक्रबार ( ५ साल अघि) ५२७ पाठक संख्या

पोखरा , पुस ६ :  कवि तीर्थ श्रेष्ठलाई यसपालीको भूपि काव्य पुरस्कार प्रदान गरिने भएको छ । भूपि शेरचनको ८३ औं जन्मजयन्तीको अवसरमा श्रेष्ठलाई मंगलबार काव्य पुरस्कार अर्पण गरिने भएको हो ।

श्रेष्ठलाई ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लाले सम्मान गर्न लागेको आयोजक थकाली सेवा समिति पोखराले जानकारी दिएको छ । नेपाली साहित्यको क्षेत्रमा विशेषत कविताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै कवि श्रेष्ठलाई सम्मान गर्न लागिएको हो ।

२०१६ सालमा पोखरामा जन्मेर लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा क्रियाशील श्रेष्ठले भूपि शेरचनसँग संगत पनि गरेका थिए । उनै भूपिको जन्मजयन्तीको अवसर पारेर श्रेष्ठलाई सम्मान गर्न लागिएको समितिका अध्यक्ष शिवशंकर गौचनले जानकारी दिए ।

पोखरेली युवा सांस्कृतिक परिवार, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति संगीत प्रशिक्षण केन्द्र लगायतका संस्थामा आवद्ध कवि तीर्थलाई सम्मानित गर्नु पुरस्कारलाई न्याय भएको कार्टुनिस्ट दुर्गा बरालले बताउँछन् । कवि तीर्थका तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट महाभारतका गीतहरु मुक्तक संग्रह र मेरै हिमालजस्तो गीत संग्रह प्रकाशित छन् ।

कवि श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार, मोति युवा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, शिरोमणि पुरस्कार, प्रवल जनसेवा श्री पदक लगायत दर्जनौं पुरस्कार तथा सम्मान पाइसकेका छन् ।

थकाली सेवा समितिका अध्यक्ष शिवशंकर गौचनको संयोकत्वमा दुर्गा बराल, सरुभक्त र प्रकाश ज्ञवाली सदस्य रहेको प्रतिभा छनोट समितिले श्रेष्ठलाई यसपालीको पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । श्रेष्ठलाई मंगलबार प्रदेश प्रमुख बाबुराम कुँवरको हातबाट पुरस्कार प्रदान गरिने समितिले जनाएको छ ।

भूपि शेरचनको परिवारजनले स्थापना गरेको अक्षयकोषबाट प्रदान गरिने यो पुरस्कार यसअघि गीतकार रत्नशमशेर थापालाई प्रदान गरिएको थियो । सुरुमा १० हजार रुपैयाँ रहेको पुरस्कार राशीलाई ५० हजार रुपैयाँ पुर्‍याएर राष्ट्रियस्तरको बनाइएको थियो । भूपि काव्य स्मृति पुरस्कारबाट कवि सरस्वती प्रतीक्षा र मोमिला सम्मानित भएका थिए ।

विक्रम सम्वत् १९९२ साल पुस १० गते जन्मिएका भूपि शेरचन नेपाली कविताको मानक कवि मानिन्छन् । उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह (०२६) लाई नेपाली कवितामा विशिष्ट मानिन्छ । भूपिले सो कृतिबाट ०२६ सालको साझा पुरस्कार समेत पाएका थिए ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस