आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्थायी कमिटीमा नेपाल, खनाल र गौतमको लडाई जारी

AuthorAP Khabar २०७५ पौष ७, शनिबार ( ५ साल अघि) ६३४ पाठक संख्या

काठमाडौं  , पुष ७ :  नेपाल कम्युनिष्ट पाटी(नेकपा) स्थायी कमिटी बैठकको प्रारम्भमा नेतृत्वको कार्यशैलीविरुद्ध खनिएका नेताहरु उतर्राद्धमा खुम्चिएका छन् । तर वरिष्ठद्वय नेता माधवकुमार नेपाल, तथा झलनाथ खनाल र सचिवालय सदस्य बामदेव गौतमले भने नेतृत्वको विसंगतिविरुद्धको खबरदारी अभियानलाई निरन्तरता दिनुभएको छ ।

पार्टी मुख्यालय धुमबाराहीमा साताअघि भएको स्थायी कमिटीको तेस्रो बैठक निश्कर्ष चरणमा पुगेको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा शनिबारसम्म ४५ सदस्यीय स्थायी कमिटीमा ४४ जनाले धारणा राखिसकेका छन् । अब परराष्ट्रमन्त्री तथा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवालीले धारणा राख्न बाँकी छ । उहाँले आफ्नो धारणा आइतबार राख्नु हुनेछ । बैठक चलिरहँदा मन्त्री ज्ञवाली अमेरिका भ्रमणमा हुनुहुन्थ्यो । त्यहीकारण ढिलाई भएको हो ।

पार्टीलाई सही ट्रयाकमा हिडाउने नेपाल, खनाल र गौतमको अभियानलाई पछिल्लो पटक स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पनि पछ्याउनु भएको छ

बैठकमा स्थायी कमिटी सदस्य धारणा राख्न २० मिनेट समय दिइएको थियो । २० मिनेट कट्ना साथ समसय सकिएको जनाउ घण्टी बज्थ्यो । घण्टी बजाउने जिम्मा गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादललाई दिइएको थियो । नेताले बोलेको टिप्ने जिम्मा महासचिव विष्णु पौडेलले लिनु भएको थियो । केही नेताले बोलेको कुनै कुनै प्रसङ्ग प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले पनि टिप्ने गर्नुभएको थियो ।

आइतबारको बैठकमा मन्त्री ज्ञवालीको धारणापछि वरिष्ठ नेता माधवकुमार नेपालले केहीबेर बोल्ने कार्यसूचि छ । त्यसपछि स्थायी कमिटी सदस्यहरुले अहिलेसम्म सोधेका प्रश्न र जिज्ञाषाप्रति अध्यक्षद्वय ओली र दाहालले जवाफ दिनुहुनेछ । अध्यद्वयको जवाफपछि बैठकको निकर्षसहितको प्रतिवेदन तयार हुनेछ ।

अध्यक्षद्वय ओली र दाहालले बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदन परिमार्जन हुने भएको छ । प्रतिवेदन स्थायी कमिटी सदस्यहरुको सुझावको आधार परिमार्जन गर्न लागिएको हो ।‘प्रतिवेदन स्थायी दस्तावेज होइन, त्यसलाई आवश्यकताका आधारमा परिमार्जन सकिन्छ र गर्नु पनि पर्छ’ स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले शनिबारको बैठकपछि सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘सबैको धारणा सुनेपछि प्राप्त सुझावका आधारमा अध्यक्षद्वयले आफ्नो प्रतिवेदन परिमार्जन गर्नुहुनेछ । प्रतिवेदन परिमार्जन हुन्छ तर पुर्नलेखन चाँही हुँदैन ।’

अडानबाट पछि हटे गौतम

लामो प्रतिक्षापछि भएको स्थायी कमिटी बैठकमा नेतृत्वको निकै आलोचना भयो । बैठकको पहिलोदिनमै अध्यक्ष ओली र दाहालले राजनीतिक प्रतिवेदन पेश गरे लगत्तै सचिवालय सदस्य बामदेव गौतमले फरक मतसहितको छुट्टै प्रतिवेदन पेश गर्नुभएको थियो । तर उहाँले प्रस्तुत गरेको फरकमत सचिवालयबाट सदर हुन सकेन । आफूले पेश गरेको फरक प्रतिवेदनमा वरिष्ठ नेता माधवकुमार नेपा तथा झलनाथ खनाल, र प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन गर्ने नेता गौतमको आशा थियो । तर उहाँहरुबाट समर्थन नपाएपछि गौतम अर्थहीन सावित भएको छ । प्रतिवेदन अर्थहीन भएपछि नेता गौतम बैठकमा नेतृत्वविरुद्ध कड्किनु भयो । उहाँको कड्काईले बैठकमा केहीबेर सन्नाटा छायो तर निश्कर्षमा त्यसको प्रभाव पर्ने स्थिति देखिएको छैन । शुरुमा कडीकडाउ भूमिकामा देखिनु भएको गौतम बैठकको उतर्राद्धमा भने अडानबाट ललाकलुलुक भइसक्नु भएको छ । फरकमत फेल खाएपछि पार्टीमा गौतमको प्रभाव र भूमिका अझै घट्ने संभावना छ ।

खनाल झन् कमजोर
वरिष्ठ नेता झलनाथ खनालको अवस्था पनि त्यस्तै छ । वरिष्ठ नेता खनाल स्थायी कमिटी बैठक बस्नुअघि नेतृत्वविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आउनु भएको थियो । तर बैठक शुरु भएपछि भने स्थायी कमिटीमा उहाँको प्रभावकारी भूमिका देखिएको छैन । अर्का वरिष्ठ नेता माधवकुमार नेपाल कहिलेकाँही कार्यशैलीको बिषयलाई लिएर प्रधानमन्त्री ओलीविरुद्ध कड्किएको बेला त्यसमा समर्थन गर्नुबाहेकको विकल्प देखिएको छैन । त्यसबाट नेता खनाल पनि आफ्नो अडानबाट गलेर अध्यक्षय ओली र दाहालकै धारणामा ल्याप्चे लगाउने अवस्थामा पुगेको स्थायी कमिटी सदस्यहरुको बुझाई छ ।

वरिष्ठ नेता खनाल र गौतम नेतृत्व बिसंगतिविरुद्धको खबरदारी अडानबाट पछि हटेपनि पार्टीमा भने त्यस्तो प्रवृति रोकिएको छैन । पछिल्लो पटक पार्टीलाई सही ट्रयाकमा हिडाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र घनश्याम भुसालले खबरदारी गर्न थाल्नु भएको छ । नेताद्वय पाण्डे र भुसाल योजना तर्कसहित प्रस्तुत हुन थाले दोस्रो पुस्ताका अन्य केही नेताहरुले पनि त्यसमा समर्थन जनाउन थालेका छन् । जसको कारण आम कार्यकर्तामा पाण्डे र भुसालको प्रभाव बढ्ने स्थिति देखिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस