काठमाडौं , पुष ९ : प्राकृतिक विपत्ति बाजा बजाएर आउने भए सायद क्षणभरमै सयौँ जीवन माटोमा मिल्ने थिएन । सजगता अपनाउँदा अपनाउँदै पनि विपतले निम्त्याउने आपत अकल्पनीय भइदिन्छ । शनिबार राति इन्डोनेसियामा आएको सुनामीले २ सय २२ जनाको मृत्यु भइसकेको छ । सुनामीमा ८ सय ४३ घाइते भएका छन् । ज्वालामुखीका कारण आएको सुनामीले इन्डोनेसियाको जावा र सुमात्रा गाउँ बस्ती नै लथालिङ्ग भएको छ । बिना कुनैसंकेत शनिबार मध्यराति आएको सुनामीका कारण मृत्यु हुनेको संख्या बढेको हो । अनक कराकातु आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटका कारण समुन्द्री सतहमा गएको पहिरोले सुनामी निम्त्याएको विज्ञहरुले बताएका छन् ।
भूगर्भसम्बन्धी अध्ययनकर्ताका अनुसार ८ हजार वर्षअघि सिसिलीमा विनासकारी सुनामी गएको थियो । ज्वालामुखीपछि विस्फोटले निम्त्याएको हिमपहिरो समुन्द्रमा खस्दा गएको सुनामी १० तलाको भवनभन्दा पनि अग्लो देखिएको थियो ।
कहाँ कहाँ गएको थियो ? बिनाशकारी सुनामी
– २६ डिसेम्वर सन २००४ मा भारतको समुन्द्री सतहमा आएको भूइँचालोका कारण श्रीलंका, भारत, इन्डोनेसिया र थाइल्याण्डलगायतका ११ देशमा गएको सुनामीले २ लाख ३० हजारको ज्यान गएको थियो । यो सम्भवतः सुनामीको इतिहासमै सबैभन्दा ठूलो मानवीय क्षति हो ।
– ११ मार्च सन २०११ मा जापानमा गएको सुनामीमा १६ हजारको ज्यान गएको थियो भने २ सय ३५ बिलियन डलर बराबरको क्षति भएको थियो । समुन्द्री सतहमा ९ रेक्टर स्केलको भूइँचालोले निम्त्याएको सुनामीले १८ हजारको ज्यान गएको थियो भने ४ लाख ५२ हजार घरबारविहीन भएका थिए ।
– १ नोभेम्बर सन १७५५ मा लिस्वन, पोर्चुगलमा गएको सुनामीमा ६० हजारले ज्यान गुमाएका थिए । सुनामीले पोर्चुगल, स्पेन र मोरक्कोमा मानवीय क्षति पुर्याएको थियो । ८ दशमलव ५ रेक्टर स्केलको भूइँचालोपछि आएको सुनामीको लहर ३० मिटरभन्दा बढी उचाइमा फैलिएको अनुमान छ ।
– २७ अगस्ट सन १८८३ क्राकताउ काल्डेरामा बिस्फोट भएको ज्वालामुखीका कारण क्राकताउ, इन्डोनेसियामा सुनामी आएको थियो । यो सुनामीमा ४० हजारले ज्यान गुमाएका थिए ।
– २० सेप्टेम्वर १४९८ मा इन्सुनाडा, जापानमा आएको सुनामीमा ३१ हजारको ज्यान गएको थियो । समुन्द्री सतहमा आएको ८ दशमलव ३ रेक्टर स्केलको भूइँचालोले निम्त्याएको सुनामीले ठूलो जनधन क्षति भएको थियो ।
– २८ अक्टोबर १७०७ मा नान्काइदो, जापानमा सुनामी गएको थियो । ८ दशमलव ४ रिक्टरस्केलको भूकम्पले निम्त्याएको सुनामीमा ३० हजारको ज्यान गएको थियो भने झण्डै ३० हजार भवन क्षतिग्रस्त भएका थिए ।
– १५ जुन १८९६ मा सान्क्रिकु जापानमा सुनामी गएको थियो । ७ दशमलव ६ रिक्टरस्केलको भूइँचालोले निम्त्याएको सुनामीले ११ हजार भवन क्षतिग्रस्त भएका थिए भने २२ हजारको ज्यान गएको थियो ।
– १३ अगस्ट १८६८ मा उत्तरी चिलीमा गएको सुनामीमा २५ हजारको ज्यान गएको थियो, तीनसय मिलियन डलर बराबर क्षति भएको थियो ।
– २४ अप्रिल १७७१ मा जापानको रिउकु आइस्ल्याण्डमा गएको सुनामीमा १२ हजारको ज्यान गएको थियो भने ३ हजार १ सय ३७ भवनहरु क्षतिग्रस्त भएका थिए ।
– १८ जनवरी १५८७ मा जापानको इस्वेमा गएको सुनामीमा ८ हजारको ज्यान गएको थियो । ८ दशमलव २ रिक्टरस्केलको भूइँचालोले निम्त्याएको सुनामीले ठूलो जनधन क्षति भएको थियो ।
के हो सुनामी ?
सुनामी जापानी शब्द हो जसको अर्थ बन्दरगाह नजिकको लहर हो । सुनामी एक किसिमको अनियन्त्रित पानीको लहर हो । जुन समुन्द्री सतहमा जाने भूकम्प र ज्वालामुखी विस्फोटका कारण आउने गर्दछ । सामान्यतया सुनामीको गति प्रतिघण्टा चारसय किलोमिटर र उचाई १० देखि १७ मिटरसम्म हुन्छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस