आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विवाहको ३५ दिन भित्रै विवाहदर्ता बनाउन सिकाइदिनोस् – प्रजिअ घिमिरे

एपी खबर २०८० चैत्र ६, मंगलबार ( ४ महिना अघि) ७५२ पाठक संख्या

बारा : हिंसा न्युनिकरण गर्नका लागि विवाह लगत्तै विवाह दर्ता गर्नुपर्छ भन्ने बारे व्यापक जनचेतना जगाउन आवश्यक रहेको बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताएका छन् । जन जागरण युवा क्लब जेजेवाइसिले आयोजना गरेको प्रेषण प्रणालीका माध्यमबाट बालविवाह, लैंगिक तथा घरेलु हिंसा न्युनिकरण र संरक्षण सेवा सम्बन्धि जिल्ला स्तरिय ३ दिने तालिमलाई सम्बोधन गर्दै प्रजिअ घिमिरेले यस्तो बताएका हुन् ।

 

पछिल्लो अवस्थालाई हेर्दा धेरै जसो लैंगिक हिंसाका घटना समयमा विवाह दर्ता नगरेकै कारण बढेको देखिएको भन्दै यसको न्युनिकरणमा सम्पूर्ण सरोकारवालाहरुले अग्रसरता देखाउनुपर्नेमा जोड दिए । उनले विवाहको ३५ दिन भित्रै विवाह दर्ता गर्ने सोचको विकास भए न्याय प्रप्तिको बाटो सहज हुने तथा हिंसा गर्नेको मनोबल पनि घट्ने बताए ।

 

वयस्क महिला र पुरुषले आपसी समझदारीमा लेनदेन गरि वा नगरि वैवाहिक सम्बन्धलाई समाप्त पार्नु समान्य विषय भए पनि सडकमुखी भएर दवाव वा प्रभावमा सम्बन्ध सकिएको घोषणा गर्ने (पञ्चायती) परिपाटी छोडेर अदालती प्रकृयामा जाने र न्याय पाउने तर्फ पिडितको हिम्मत बढाई सरोकारवालाहरुले विषेश भुमिका निर्वाह गर्नुुपर्नेमा प्रजिअ घिमिरेको जोड छ ।

 

त्यस्तै बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले हटलाइनको प्रयोग गर्ने र हिंसा नलुकाउने अवस्था सृजना गर्नु आजको अत्यावश्यकता रहेको बताए । उनका अनुसार उमेर नपुगी जबरजस्ती गरिने विवाह, समाजिक सञ्जालको दुरुपयोग, सानै उमेरमा गरिने भागि विवाह, फरक जातीमा प्रेम सम्बन्ध हुनु, बढ्दो नशालु पदार्थको सेवन जस्ता कारणहरुले लैंगिक हिंसा बढेको पाइएको छ ।

 

उनले यस्ता हिंसा जन्य कारकतत्वलाई न्युनिकरण गर्न व्यक्ति भन्दा पनि परिवारलाई परामर्श सेवा दिनुपर्नेमा जोड दिए । समान्य विषयमा सुरु भएको हिंसाले महिलालाई आत्महत्या गर्न बाध्य हुने अवस्था समाप्त गर्न र हिंसा रहित समाज निर्माणमा सहयोग गर्न समेत सरोकारवालाहरुलाई प्रहरी उपरिक्षक काफ्लेले आग्रह गरे । तालिममा हिंसाका परिचय, प्रकार, हिंसा न्युनिकरणमा भएका प्रयास, प्रेषण प्रणलिको परिचय, महत्व, प्रेषणका माध्यमबाट हुन सक्ने अर्थपूर्ण परिवर्तन, ओसिएमसिको परिचय, कार्यशैली लगाएतका महत्वपूर्ण विषयबारे जानकारी पाएको भन्दै सहभागिहरुले आयोजकलाई धन्यवाद दिए ।

 

 

दृश्य सामग्रीसँगै खेल तथा समुहकार्यका विधिबाट प्रशिक्षण दिएकोले पनि बुझाईमा सहजता भएको उनीहरुले बताए ।
तालिम अनुभव बाँड्दै सहभागि अखिलेश यादव, रमी राम, आमिर खान पठानले एकद्धार संकट व्यवस्थापन केन्द्र ओसीएमसी मार्फत हिंसा पिडितलाई निःशुल्क स्वास्थ्य उपचार, कानुनी परामर्श, मनोसमाजिक परामर्श, सुरक्षित आवास, आवश्यकतामा आधारित अन्य सहयोग, जिविकोपार्जन सहितको पुर्नस्थपना सम्मका सेवा दिने व्यवस्था बारे जान्न पाएकोमा खुशी व्यक्त गरे ।

 

 

जेजेवाइसिका अध्यक्ष भैयाराम यादवले तालिमबाट सिकेका विषयलाई व्यवहारिक रुपमा प्रयोग गरेर प्रेषणका माध्यमले संरक्षण सेवा प्रदान गर्ने पाटोमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सहभागिहरुलाई आग्रह गरे । इस्लामिक रिलिफ नेपाल, इस्लामिक रिलिफ क्यानडाको आर्थीक सहयोग तथा जेजेवाइसि बाराको अयोजनामा महागढीमाई नगरपालिकाको वडा नं. १, २ र ८ तथा सुवर्ण गाउँपालिकाको १, ५, ६ र ८ मा संचालित सामुदायिक उत्थानशिलता सुदृढिकरण (एससिआर) परियोजना अन्र्तगत ३ दिने तालिम चलाइएको परियोजनाका कार्यक्रम संयोजक डा.अजय कुमारले जानकारी दिए ।

 

तालिममा हिंसा न्युनिकरण तथा संरक्षण आवश्यक व्यक्ति पहिचानमा सक्रिय भुमिका निर्वाह गर्न गठित बाल क्लब, युवा क्लब तथा वडा स्तरिय संरक्षण संजालका प्रतिनिधी, दुवै पालिकाबाट न्यायिक समिति सँयोजक, महिला तथा बालबालिका शाखा, योजना शाखा, शिक्षा शाखा, जिल्ला प्रहरी कार्यालय तथा महिला सेल र ओसिएमसिका प्रतिनिधी समेत गरि ३० जनाको सहभागिता रहेको थियो । तालिममा प्रा.डा.सुष्मा तिवारीले प्रशिक्षण दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस