आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सफल बन्दै : सांसद पौडेल

AuthorAP Khabar२०७५ भाद्र १, शुक्रबार (५ साल अघि) ५३८ पाठक संख्या

सिमरा : बारा क्षेत्र नं. ६ का सांसद एव्म पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकासका निम्ति सरकारले ल्याएको योजना आफ्नो क्षेत्रमा सफल बन्दै गएको बताएका छन् ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कोषको रकम सदुपयोगको अवस्था सार्वजनिक गर्न प्रेस चौतारी नेपाल बारा शाखाले आईतवार सिमरामा राखेको पत्रकार सम्मेलनमा बोल्दै सांसद पौडेलले जनताको प्रत्यक्ष सहभागितामा पूर्वाधार विकास भईरहेको र त्यसबाट जनता लाभान्वित भईरहेको बताए ।
कोषको रकम दुरुपयोग हुन नदिन आफुले नियमित रुपमा अनुगमन गरिरहेको भन्दै सांसद पौडेलले आवश्यकता हेरेर योजनामा लगानी गरिएको र त्यसबाट गलत फाईदा कसैले नउठाओस भन्नेतर्फ आफू सचेत रहेको पनि बताए । सांसद पौडेलले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत गत वर्ष सम्पन्न भएका र यस बर्ष निर्माणधिन अवस्थामा रहेका योजनाका बारेमा पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
पौडेलले ग्रामीण सडक निर्माणमा रकम खर्च गरेका छन् । निर्वाचन क्षेत्रभित्र रहेको विभिन्न स्थानमा सडकको आवश्यकता पुरा गर्न पौडेलले गत बर्षको एक करोड र यस बर्षको एक करोड रकमबाट सडक निर्माणलाई प्राथमिकतामा राखेको देखिएको छ । सडकसहित पौडेलले क्याम्पस र विद्यालय भवन निर्माणमा पनि रकम खर्चिएका छन् । सिमरा कलेज, डुमरवाना कलेज, निजगढ कलेजलगायत विभिन्न विद्यालयको पूर्वाधारका निम्ति आफूले कोषबाट सहयोग गरेको पौडेलले बताए ।
पौडेलले विभिन्न सिपमुलक तालिम सञ्चालनमा पनि रकम खर्चिएको जानकारी दिए । जनताको माग अनुसार मन्दिर तथा प्रतिक्षालय निर्माणमा, खानेपानी विस्तार र आयआर्जनमा लगानी गरिएको र त्यस्ता कार्यक्रममालाई यस बर्ष पनि निरन्तरता दिइएको बताए ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका बिषयमा आफू गम्भिर रहेको भन्दै पौडेलले कोषबाट लगानी भएका योजना निर्माणमा कमजोरी देखिए जानकारी गराउन समेत आग्रह गरे । योजनाको रकममा सदुपयोग गर्न आग्रह गर्दै पौडेलले जनताका लागि लगानी गरिएको रकमको पूर्णरुपमा सदुपयोग हुन जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारीले निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमलाई पारदर्शिरुपमा अघि बढाउन सुझाव दिए । कोषको रकम दुरुपयोग हुनेतर्फ सचेत रहन आग्रह गर्दै भण्डारीले सञ्चार क्षेत्रको विकासमा पनि सहयोग गर्न सांसद पौडेलको ध्यानाकर्षण गराएका थिए । जनतासंग प्रत्यक्ष जोडिने भएकाले निर्माण सम्पन्न भएका र निर्माणधिन योजनाका बारेमा पटक पटक पत्रकार सम्मेलन सार्वजनिक गर्नुपर्ने उनको भनाई थियो ।
अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले नेता भरत खड्का, सुन्दर विश्वकर्मा, कृष्ण खनाल, मनोज पौडेल, भोला अधिकारी, कमलेश झा, कमला घिमिरे, प्रेस चौतारी नेपाललका केन्द्रीय सदस्य प्रकाश लम्साल, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्याय, प्रेस युनियन बाराका अध्यक्ष गणेशराज रिजाललगायतको जिल्लाका सञ्चारकर्मीको उपस्थिती रहेको थियो । कार्यक्रमका सञ्चालन प्रेस चौतारी नेपाल बाराका सहसचिव सन्तोष देउजाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस