बैशाख ११ साइपाल गाउँपालिकाबाट १७ क्विन्टल बहुमूल्य जडिबुटी ‘सेतक चिनी’ बरादम गरिएको छ ।साइपाल २–धलौनबाट अवैध रुपमा संकलन गरी सदरमुकाम चैनपुर तर्फ तस्करी भइरहेको सेतक चिनी प्रहरीले बरामद गरेको हो ।
साइपाल गाउँपालिका वडा नं २ कार्यालयले सेतक चिनी ढुवानीमा रोक लगाएको छ । वडा कार्यालयको आदेश अटेर गरी खच्चडलाई बोकाएर ल्याउँदै गरेको सेतक चिनी प्रहरीले बीचबाटो मै नियन्त्रणमा लिएको हो । पक्राउ परेको सेतक चिनी विनिताजनरल स्टोर्स एन्ड सप्लार्यस सुर्खेतका सञ्चालक हरिबहादुर बुढाको भएको प्रहरीले जनाएको छ ।
बुढाले तल्कोट गाउँपालिकाको वन क्षेत्रबाट ८० किलो सेतक चिनी संकलन गर्ने अनुमति लिएका थिए । डिभिजन वन कार्यालयबाट थोरै परिमाणको संकलन अनुमती लिएर धेरै सेचक चिनी संकलन र तस्करी गर्ने बझाङमा चलन नै बनेको छ ।
सदरमुकाम चैनपुरबाट ३ दिनको पैदल दूरीमा रहेको सीमा प्रहरी चौकी धुलीले मंगलबार नियन्त्रणमा लिएको सेतक चिनी सदरमुकाम ल्याउन कठिनाइ भैरहेको प्रहरीको भनाइ छ ।
तस्कर, डिभिजन वन कार्यालयका कर्मचारी र व्यापारीको बीचको मिलिमतोमा सेतक चिनीको तस्करी भइरहेको स्थानीयको भनाइ छ ।
बझाङमा भदौदेखी मंसिरसम्म सेचक चिनी संकलन गरिन्छ । अनुमति लिएको भन्दा हजारौं गुणा बढी सेतक चिनी अवैधरुपमा संकलन गर्दा बझाङमा तीव्र रुपमा वन बिनाश भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस