आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

औषधिको उत्पादन ७० प्रतिशतले घट्यो

एपी खबर २०७७ आश्विन ७, बुधबार (३ साल अघि) ४०५ पाठक संख्या

काठमाडौँ ;बजारमा औषधिको मागमा कमी आएपछि औषधि उत्पादक कम्पनीहरूले उत्पादनमा व्यापक कटौती गरेका छन् । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गरेको बन्दाबन्दीयता दीर्घरोग र प्यारासिटामोल, हाइड्रोक्लोरोक्विनबाहेक अन्य औषधिको माग शून्य भएपछि उत्पादन कटौती गर्नु परेको व्यवसायीहरू बताउँछन् ।

औषधिको मागमा कमी आएपछि अहिले उद्योगीहरूले ७० प्रतिशतसम्म उत्पादन घटाएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए । ‘बजारमा औषधिको माग नै नभएपछि उद्योगीहरूले लक्ष्यभन्दा एकदमै कम उत्पादन गरिरहेका छन्,’ उनले भने ।

कोरोना महामारी शुरू हुँदा भारत र चीनले कच्चा पदार्थको निर्यातमा कडाइ गर्नु र औषधिजन्य कच्चा पदार्थको मूल्य पनि बढाएका कारण नेपालका उद्योगहरूले उत्पादनमा केही कमी ल्याएको उनले बताए ।चैतयता आपूर्ति शृंखला राम्रो भए पनि बजारमा औषधिको माग नै नहुँदा व्यवसायीहरू पुरानो लयमा फर्किन सकेका छैनन् ।

अस्पतालहरूमा कोरोनाका बिरामीको चाप बढ्दै गएकाले नागरिकमा मनोवैज्ञानिक त्रास फैलिएको क्षत्रीको बुझाइ छ । ‘कोरोनाको जोखिमका कारण अत्यावश्यक अवस्थामा मात्र बिरामीहरू अस्पताल पुग्ने गरेका छन् जसले गर्दा मागमा कमी आएको हो,’ उनले भने ।

बजारमा माग नै नभएपछि देशकै सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले करीब १ महीना औषधि उत्पादन नै बन्द ग¥यो ।

बजारमा माग नभएकाले केही समय उत्पादन बन्द गरी पुनः सञ्चालनमा ल्याइएको कम्पनीका सञ्चालक हरिभक्त शर्माले जानकारी दिए । ‘सप्लाइलगायत सबै काम भइरहेका छन् । उत्पादन बजार मागअनुसार गरिरहेका छौं,’ उनले भने । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस