आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उडान भद्रगोल, फ्लाई दुबईलाई १७ मिनेट ढिलो उडाइयो

AuthorAP Khabar२०७५ चैत्र २८, बिहिबार (५ साल अघि) ३४८ पाठक संख्या

चैत्र २८  राजधानीबाट प्रकाशित अखबारहरुले फरक–फरक विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशित गरेका छन् ।

बुधबार जनतासमाचार डटकमले उद्योगपति दिवाकर गोल्छाको मृत्यु, डाक्टरहरुले वीर अस्पतालको आँगनबाट सेवा दिन थालेको, सगरमाथाको उचाइ नाप्नको लागि प्रधानमन्त्री केपी ओलीले एक टोलीको विदाई गरेको समाचार प्रकाशित गर्यो । यसका अलावा अन्य राजनीतिक, सामाजिक, मनोरञ्जनात्मक, साहित्यिक, आर्थिक तथा अन्तर्राष्ट्रिय र खेलकुदका प्रसङ्गहरुलाई समेटिएको थियो ।

‘नेपालले सगरमाथाको उचाइ नाप्ने’ शीर्षकमा आजको गोरखापत्र दैनिकमा समाचार छापिएको छ । समाचारमा प्रधानमन्त्री केपी ओलीले नेपाली आफैँले उचाइ मापन गर्दा सबैभन्दा आधिकारिक हुने बताउनुभएको उल्लेख गरिएको छ । यस्तै गृहमन्त्री रामबहादुर थापाले बंशजका आधारमा नागरिकता पाएका सन्तानहरुको नागरिकता पनि बंशजकै आधारमा गर्नुहोस् भनी ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गरेको परिपत्रप्रति शंका नगर्न आग्रह गर्नुभएको छ । पत्रिकाकै पहिलो पृष्ठमा ‘ब्ल्याक होल’को तस्बिर सार्वजनिक शीर्षक दिएर तस्बिरसहितको समाचार छापिएको छ । यस्तै सामाजिक सञ्जालमा चलेको ‘ट्रयास च्यालेञ्ज’ सफाइका लागि लोकप्रिय बन्दै गएको समाचार पनि गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।

राजधानी दैनिकले ‘बिरामीलाई बेवास्ता गर्दै १ सय २० घण्टादेखि आन्दोलनमा’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचारमा सरकारी चिकित्सकहरुले आन्दोलनले विरामी मारमा परेको प्रसङ्ग उल्लेख गरिएको छ । यस्तै स्थानीय तहमा १६ हजार कर्मचारी अझै पनि अभाव रहेको समाचारलाई पहिलो पृष्ठमा छापेको पत्रिकाले डलरको सञ्चिति अत्याधिक घटेको समाचारलाई पनि प्राथमिकता दिएको छ । त्यसैगरी एकै परिवारका पाँचजना अधिकृत भएको समाचार पनि राजधानी दैनिकले आफ्नो पहिलो पृष्ठको पुच्छारमा छापेको छ ।

‘मेलम्चीका १७ वर्ष ः २५ अर्ब लगानी, सवा २ अर्ब भ्रष्टाचार’ शीर्षकमा नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ । समाचार स्थानीय जनताको सामाजिक उत्थानका नाममा एक अर्ब ८७ करोड भनिएता पनि त्यसले समाजमा कुनैपनि प्रभाव नपारेको स्थानीयको गुनासो छ । यस विषयमा महालेखा परीक्षकको कार्यालयले छानबिन गर्ने भएको छ । यस्तै प्रधानमन्त्री कार्यालय, खानेपानी मन्त्रालय, सहरी विकास मन्त्रालय, सेना, सशस्त्र र जनपथ प्रहरीहरुले मेलम्चीका विलासी गाडी चढ्ने गरेको समाचार पनि त्यसमै समावेश छ । त्यसैगरी प्रहरी क्याम्प बन्यो वीर अस्पताल शीर्षकमा प्रहरी र डाक्टरकोृ भीडको तस्बिरसहितको समाचार पनि नयाँ पत्रिका दैनिकले छापेको छ । यस्तै ४ मिनेट ढिलो हुँदा नेपाल एयरलायन्सको विमान उड्न नदिएको त्रिभुवन विमानस्थलले फ्लाई दुबईको जहाज भने १७ मिनेट ढिला उडेको प्रसङ्गलाई पनि पत्रिकाले समेटेको छ ।

कान्तिपुर दैनिकले ‘उडान भद्रगोल’ शीर्षकमास पहिलो पृष्ठमा तस्बिर र तथ्यसहित प्रकाशित गरेको छ । समाचारमा नोटाम जारी भएको १७ मिनेटपछि समेत फ्लाई दुबईलाई उडान अनुमति दिएको, ट्याक्सी वेमा पुगेको जेटको विमानमा पाइलटले इन्धन अभाव भएको जनाउँदै पुनः पार्किङकमा ल्याई तीन यात्रु थपेको र अघिल्लो मंगलबार राति २ सय ७४ यात्रुसहित दुबई उड्नुपर्ने निगमको वाइडबडी ११ घण्टापछि उडेको प्रसङ्गलाई समेटिएको छ । त्यसैगरी ‘सांसद्लाई अपरिचित निम्तो’ शीर्षकको समाचार लेखेको कान्तिपुरले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा शुसासन समितिले संसद्मा विचाराधीन विषयमा परिपत्र नगर्न सरकारलाई निर्देशन दिएको समाचारलाई ‘समितिले गरायो सरकारलाई सचेत’ शीर्षकको समाचार प्रकाशित गरेको छ । त्यसैगरी दोलखामा पाहा माछा पाल्न थालिएको समाचार पनि पत्रिकाको पहिलो पृष्ठको पुच्छारमा छापिएको छ ।

अन्नपूर्ण पोस्टले ‘अन्ततः खिचियो ब्ल्याकहोल’ शीर्षकमा ब्ल्याकहोलको तस्बिरसहितको समाचार प्रकाशित गरेको छ । यस्तै पत्रिकाले सरकारी चिकित्सकहरुले बुधबार बीर अस्पतालमा सेवा दिएसँगै काममा फर्किएको समाचार छापेको छ । फ्लाई दुबईलाई चााहिँ १७ मिनेट शीर्षकमा समाचार प्रकाशित गरेको पत्रिकाले घरजस्तै खेलमैदान शीर्षकमा आठौँ राष्ट्रिय खेलकुदको छनौटलाई चित्रण गरेको छ । यस्तै सरकारले बाह्यशक्तिको हस्तक्षपकारी भूमिका बढ्दै गएको निष्कर्ष निकालेको समाचार पहिलो पृष्ठमा छापेको छ ।

‘राष्ट्रपतिको चीन भ्रमणमा पारवहन सम्झौतामा हस्ताक्षर’ शीर्षकको समाचार कारोबार दैनिकमा छापिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले छिट्टै नै चीन भ्रमण गर्ने समाचार उल्लेख छ । दिवाकर गोल्छाको मृत्यु भएको समाचाचारलाई कारोबारले ‘रहेनन् औद्योगिक क्रान्तिका नायक’ शीर्षक दिएर छापेको छ । मलेसिया रोजगारीको लागि गरिने स्वास्थ्य परीक्षण अब सरकारी तथा निजी अस्पतालबाट नै गर्न सकिने भएको छ । समाचारमा यसअघि विभिन्न पोलीक्निक र मेडिकलहरुले स्वास्थ्य परीक्षणमा सिन्डिकेट लागू गर्दै आएता पनि अब भने त्यस्तो नरहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस