बैशाख ९ यस वर्षको वसन्त ऋतुमा सगरमाथासहित हिमाल आरोहणका लागि आरोहीको उत्साहजनक सहभागिता रहेको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म हिमाल आरोहण अनुमति लिने समुह ९३ पुगेको छ । आरोहणका लागि ९३ समुहबाट सात सय ७८ जना आरोही गएका छन् ।
आरोही समुहबाट हालसम्म करिब ४८ करोड ३० लाख रुपैयाँ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । यसमध्ये सगरमाथामा जाने आराेहीबाट मात्रै ४३ करोड ५२ लाख रोयल्टी जम्मा भएकाे छ । सगरमाथा आरोहणका लागि ३३ समूहबाट ३ सय ६२ जना सहभागी रहेका छन् ।
त्यसैगरी, ल्होत्सेका नौ आरोही समूहका ७७ जना, अमादब्लमका पाँच आरोही समूहका ४९ जना, कञ्चनजङ्गाका लागि पाँच आरोही समूहबाट ३२ जना आरोही गएका छन् । त्यस्तै मकालुका लागि चार आरोही समूहका ५३ जना सहभागी रहेका छन् । अन्नपूर्णमा तीन र धौलागिरि हिमाल आरोहणका लागि तीन आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस