आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अस्थायी शिक्षकलाई विदाई गर्ने सरकारको तयारी

AuthorAP Khabar२०७६ बैशाख २५, बुधबार (४ साल अघि) ४३७ पाठक संख्या

बैशाख २५

सरकारले अस्थायी शिक्षकहरुको पुनः परीक्षा गराउन नसकिने स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न नसकिने प्रष्टयाएका छन् ।

बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले एक पटक लिइएको परीक्षामा अनुतीर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिकसत्र भित्रै सम्मानका साथ विदाई गर्ने योजना पनि अघि सारे । ‘लामो समयदेखि काम गर्दै आएको भन्ने आधारमा मात्रै उहाँ (अस्थायी शिक्षक) हरुलाई शिक्षण पेशामा राख्न सक्ने अवस्था छैन’, मन्त्री पोखरेलले भने, ‘स्थायी हुनका लागि लिइएको मौका परीक्षामा असफल भएका वा परीक्षामा सहभागि नभएकाहरुले भने अनुसार पुनः परीक्षा गर्न सकिँदैन । उहाँहरुलाई सम्मानजनक बिदाइ गर्ने हो ।’ उनले अस्थायी शिक्षकहरुलाई आर्थिक सहायतासहित विदाई गर्न सरकार लागि परेको पनि स्पष्ट पारेका छन् ।

यसअघि शिक्षक सेवा आयोगको २०७४ साल असार २९ र ३० गते अस्थायी शिक्षकलाई स्थायी हुने मौका प्रदान गर्नका लागि परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा उतीर्ण भएका अस्थायी शिक्षकहरु स्थायी भएका छन् । तर असफल हुने र परीक्षामा सहभागी नभएका अस्थायी शिक्षकहरुले आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै पुन आन्दोलन सुरु गरेका छन् । बैठकमा समितिका सदस्यहरुले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । बैठकमा सांसद रेखा कुमारीले लामो समय कार्यरत अस्थायी शिक्षकहरुको पीडालाई सम्बोधन गरेर अघि बढ्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

उनले कतिपय अस्थायी शिक्षकहरु अपांग समेत भएकाले उनीहरुको जीविकोपार्जनको व्यवस्था सरकारले गर्नुपर्ने पनि बताए । बैठकमा समिति अन्तरगतको शिक्षा उपसमितिले तयार पारेको प्रतिवेदन मन्त्री पोखरेललाई बुझाइएको थियो । प्रतिवेदनमा शिक्षक दरबन्दी तत्काल मिलान गर्न सरकारलाई सुझाव दिइएको छ । त्यसैगरी सार्वजनिक विद्यालयहरुको पठनपाठनलाई व्यवस्थित बनाउन पनि सरकारलाई सचेत गराइएको उपसमितिका संयोजक उमेश श्रेष्ठले जानकारी दिए ।

यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले शिक्षकहरुको दरबन्दी मिलानमा ढिलाइ हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस