आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विप्लव नेकपाका नेतालाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै प्रतिपक्षको अवरोध

AuthorAP Khabar२०७६ श्रावण १६, बिहिबार (४ साल अघि) ३१२ पाठक संख्या

२०७६ श्रावण १६
संसदीय छानबिन समिति बनाउनुपर्ने र बनाउन नहुने परस्परविरोधी दलीय अडानका कारण प्रतिनिधिसभा लगातार अवरुद्ध छ । विपक्षी र सत्तारूढ दल अडानमा लचिलो नहुँदा समस्याको गाँठो फुक्न सकेको छैन । विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले मध्यमार्गी विकल्प अगाडि सारेका छन ।
नयाँ समिति गठनमा दलीय सहमति नभए सदनकै उक्त विषयको क्षेत्राधिकार रहेको समितिलाई विशेष निर्देशनसहित घटना अनुसन्धानको जिम्मेवारी दिने प्रस्ताव सभामुख महराको छ ।

दलीय सहमति भएमा छुट्टै समिति गठनको प्रक्रिया अगाडि बढाउन आफू तयार रहेको उनको भनाइ छ । समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षसँग निरन्तर अनौपचारिक छलफलमा थालेका सभामुख महराले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई सदनबाटै विशेष निर्देशन दिएर घटना छानबिनको प्रक्रिया अगाडि बढाउन सकिने विकल्प अघि सारेका हुन । नयाँ समिति गठनमा दलीय सहमति जुट्न नसकेको विकल्पका रूपमा यस्तो प्रस्ताव आएको हो ।

बुधबार सदन अवरुद्धपछि सभामुख महराले दलीय सहमतिका लागि आफू प्रयत्नशील रहेको बताए। उनले भने, “दलीय सहमति भएमा तत्कालै समिति गठनमा म तयार छु । सहमति नभएमा राज्य व्यवस्था समितिलाई नै विशेष निर्देशनसहित घटना छानबिनको निर्देशन दिन सकिने मैले प्रस्ताव राखेको छु । बिहीबारसम्म केही न केही विषयमा सहमति हुनेमा म आशावादी छु । ”

विपक्षी दलका नयाँ नयाँ एजेण्डा थपिदैं

सदनमा गतिरोध लम्बिँदै जाँदा विपक्षी दलहरूले नयाँ नयाँ ‘एजेन्डा’ थप गरेका छन् । बुधबारदेखि विपक्षी दलले सभामुख वा उपसभामुखमध्ये एक फरक दलको हुनुपर्ने धारणालाई पुनः उठाएको छ । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि केही समय विषय उठान भए पनि सर्वोच्चमा रिट दायर भएपछि विषयान्तर भएको थियो । लामो समयपछि विपक्षी दलले उक्त एजेन्डा पुनः उठाएको हो ।

विपक्षीले उक्त एजेन्डा उठाएपछि सभामुख महराले रुलिङ गरेका थिए । अदालतमा विचाराधीन विषयलाई सदनको विषय नबनाउन सभामुखको रुलिङ थियो । रुलिङपछि सदन अवरुद्ध गरिरहेका दलले उक्त विषयमा नाराबाजी बन्द गरेका थिए । विचाराधीन विषय भएकाले उक्त विषयमा अदालतको फैसला कुर्नुको विकल्प नभएको महराको भनाइ छ । “यो विषयमा जो कोहीले पनि सदनमा टिप्पणी गर्नु उचित हैन । मैले पनि टिप्पणी गर्न मिल्दैन । अदालतको फैसला कुर्नुको विकल्प छैन”, महराले भने ।

विपक्ष दलले भने अदालतको आडमा गैरसंवैधानिक काम भइरहेको आरोप लगाएको छ । विपक्षी दल नेपाली काँग्रेसकी सांसद डिला सङ्ग्रौलाले गैरसंवैधानिक काम भइरहेकाले पुनः विषय उठान गरिएको बताईन । उनले भनिन् , “हामीले पहिले पनि विषय उठान गरेका हौँ । मुद्दाको नाममा अलमल्याउने काम भयो । मुद्दा लम्ब्याएर गैरसंवैधानिक काम भइरहेको छ । अब नारा लाग्न छाड्दैन । ’’

बुधबार पनि संसदमा अवरोध जारी

यसैबीच सर्लाही घटनाको छानबिनको माग गर्दै विपक्षी दलहरूले बुधबार पनि सदनको अवरोध कायमै राखेका छन् । प्रमुख विपक्षी दल काँग्रेसले सर्लाहीमा हिंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको घटना छानबिनको माग गरिरहेको छ । पौडेलको मृत्यु मुठभेडमा नभई हत्या भएको काँग्रेसको दाबी छ । गृहमन्त्री थापाले भने दोहोरो मुठभेडमा पौडेलको मृत्यु भएको सदनमा जानकारी दिएका थिए । गृहमन्त्रीको जवाफमा चित्त नबुझेको भन्दै काँग्रेसले अवरोध जारी राखेको हो ।

अवरोध हटाउने विषयमा सर्वदलीय बैठक आज
प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख महराले बिहीबार सर्वदलीय बैठक आह्वान गरेका छन । सदनको गतिरोध अन्त्यका लागि समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो । बिहीबारको प्रतिनिधिसभा बैठकअघि छलफल गर्ने समय तय भएको सभामुख महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस