आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश २ सरकार र प्रतिपक्षीबीच लेनदेन : भागबन्डा मिलेपछि चुपचाप

AuthorAP Khabar२०७६ श्रावण १६, बिहिबार (४ साल अघि) ३३० पाठक संख्या

जनकपुर, १६ साउन — सरकारका गलत कदमको खबरदारी गर्नु प्रतिपक्षी दलको धर्म हो । तर प्रदेश २ को प्रतिपक्ष दल भने भागबण्डामा रमाउने गरेको छ ।

पछिल्लो समय सरकारप्रति विभिन्न आरोप लगाउँदै सदन अवरुद्ध गरेका प्रदेश २ का प्रतिपक्षी दलहरु भागबन्डा र लेनदेन मिलेपछि चुपचाप बनेका छन् ।

प्रदेश २ सरकारले नातागोता र कार्यकर्तालाई उपभोक्ता समितिमा राखेर आफू अनुकूल काम गरिरहेको आरोप लगाउँदै सदन अवरुद्ध गरेका प्रतिपक्षी दल भागबन्डा मिलेपछि चुपचाप बनेका छन् ।

प्रदेशसभामा प्रतिपक्षीको भूमिकामा रहेका नेपाली काग्रेस र नेकपाका सांसदले सिट संख्याका आधारमा बजेट लिएपछि तै चुप् मैँ चुप्को स्थितिमा पुगेका हुन् ।

प्रदेश सरकारका एक मन्त्रीकाअनुसार उनीहरुले बजेट नदिए विभिन्न निहुँमा संसद अवरोध गर्ने, सरकार विरुद्ध भ्रम सृजना गर्नेलगायतका काम गर्न थालेपछि केही न केही बजेट दिएर चुप लगाइएको हो ।

नेकपा र कांग्रेसका सांसदले जथाभावी बजेट रकमान्तर गरी ब्रह्मलुट मच्चाएको आरोप लगाउँदै एक महिनाजति सदनको काम कारबाही ठप्प गराएका थिए ।

तर प्रदेश सरकार उनीहरुले भनेबमोजिम एक–एक करोडको योजना दिन सहमत भएपछि सदन सुचारु भएको थियो ।

गत आर्थिक वर्षमा नेकपाले २५ करोड रुपैयाँ र काग्रेसले १५ करोड रुपैयाँको योजना पाएका थिए ।

तर, नेकपा प्रदेशसभा सदस्य रामचन्द्र मण्डल भने आफूहरु कुनै भागबण्डामा लिप्त नभएको दाबी गर्छन् ।

आधाजस्तो विकास बजेट खर्च गर्न नसकेको प्रदेशले आर्थिक बर्षको अन्त्यमा सांसदलाई एक एक करोडको योजना दिएपछि दुरुपयोग हुने खतरा झन् बढेर गएको छ ।

बजेट रकमान्तर गरी निहित स्वार्थ पूरा गर्ने सरकारको गलत अभ्यास सच्याउनुपर्ने विपक्षी आफैँ भाग लिएर चुप लाग्नु ठूलो घात रहेको अर्थविद डा. सुरेन्द्र लाभको भनाइ छ ।

जनतासँग अनियमितता भष्ट्राचार र बेथितिविरुद्ध लड्ने कसम खाएका जनप्रतिनिधि नै त्यसकै पक्षपोषणमा उन्मुख हुँदा आम जनतालाई दिक्दार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस