फाल्गुन १३ काठमाडौं । सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजानिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना प्रक्रियामा पनि शंकास्पद काम गरेकाे पाइएको छ ।
१२ देशका २२ वटा कम्पनीले नेपालको स्याटेलाइट राख्न रुचि देखाएका भएपनि बाँस्कोटाले जी टु जी मार्फत एउटै कम्पनीसँग समझदारी अगाडी बढाएका थिए ।
नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको तयारी स्वरुप गठन गरेको अध्ययन समितिको प्रतिवेदन र सार्वजानिक खरिद ऐनलाई लत्याउँदै बाँस्कोटाले बिना प्रतिस्पर्धा जी टु जी मार्फत परियोजना अगाडी बढाएका थिए ।
बाँस्कोटाको युरोप भ्रमणका क्रममा गत वर्ष फ्रान्सेली कम्पनी थ्यालस एलेनियनसँग स्याटेलाइट खरिदका लागि सम्झौतामा हस्ताक्षर भएको थियो ।
दूरसञ्चार प्राधिकरणले २०७३ सालमा स्याटेलाइट निर्माणका लागि अन्तराष्ट्रिय रुपमा आशय मागेको थियो । जसमा अमेरिका, चीन, भारत, थाइल्याण्ड, सिंगापुर, क्यानडा, फ्रान्स जापान, कोरिया, इजरायल, रसिया गरी २२ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए ।
यति धेरै प्रस्ताव परेको भएपनि सरकारले सोझै एक कम्पनीलाई जी टु जी प्रक्रियामार्फत स्याटेलाइट निर्माणको जिम्मा दिँदा लागत महंगो पर्ने र सरकारको भूमिका कम हुने जानकारहरु बताउँछन् । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस