आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्राफिक नियम उल्लघंन गर्नेमाथि सीसीटीभी मार्फत निगरानी

एपी खबर २०८० अषाढ २२, शुक्रबार (१० महिना अघि) ८२ पाठक संख्या

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई प्रहरीले सर्भेलियन्स क्यामेरा (सीसीटीभी)बाट निगरानी गर्न थालेकाे छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न ठाउँमा सीसीटीभी जडान गरेर यो काम सुरु गरेको हो । योसँगै द्रुत गतिमा सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, जथाभावी ओभरटेक गर्ने सवारी चालकलाई फुटेज हेरेर कारबाही गरिने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

 

यस कामका लागि विभिन्न ठाउँमा राखिएका सीसी क्यामेराको लाइभ भिडिओ प्रहरीको कन्ट्रोल रुममा आउने व्यवस्था मिलाइएको छ । जहाँ ट्राफिक प्रहरी बसेर सवारी साधनको निगरानी गरिरहेका हुन्छन् । कसैले नियम उल्लघंन गरेको पाइए कन्ट्रोल रुमबाट उक्त ठाउँमा भएका ट्राफिक प्रहरीलाई रेडियो सेटबाट जानकारी दिइन्छ । त्यसपछि त्यहाँ भएका प्रहरीले उक्त सवारी चालकलाई नियन्त्रणमा लिन्छन् ।

 

यदि प्रत्यक्ष रुपमा यसो गर्न नसके यातायात व्यवस्था विभागबाट सम्बन्धित सवारी साधनको विवरण पत्ता लगाएर सवारीधनी वा चालकलाई कारबाही गरिने कार्यालयका प्रवक्ता भट्टले बताए ।

 

अहिले प्रहरीले यही तरिकाबाट दैनिक २०० बढीलाई कारबाही गरिरहेको छ । यद्यपि विकसित देशहरूमा यो काम स्वचालित रुपमा हुन्छ । स्रोत साधन तथा बजेटको कमीका कारण गर्न आफूहरूले भने त्यसो गर्न नसकिरहेको प्रवक्ता भट्टले सुनाए ।

 

“विदेशतिर यो काम ‘इन्टेलिजेन्स ट्रान्सपोर्ट सिस्टम’बाट स्वचालित हुन्छ । सवारी साधनको दर्ता, सवारी चालकको अनुमति पत्र, सीसीटीभी सर्भेलियन्स क्यामेरा, नागरिकहरूको बैंक खाता, टेलिकम लगायतका विभिन्न डेटा एकीकृत गरेर उक्त सिस्टम बनाइएको हुन्छ,” उनले अगाडि भने, “कुनै चालकले ट्राफिक नियम उल्लङ्घन गर्दा कसको सवारी साधन हो, सवारी चालक को हो, उसले कुन नियम उल्लघंन गर्‍याे , जरिवाना कति हुन्छ लगायतका कुरा स्वतः हुन्छ । हाम्रोमा भने यो काम हुन सकिरहेको छैन ।”

 

केही समयअघि नयाँ बानेश्वर-बबरमहल-थापाथलीको रुटमा स्वचालित रुपमा सवारी साधन निगरानी गर्ने योजना ल्याइए पनि पूर्वाधार कमीका कारण कार्यान्वयनमा आउन नसकेकाे उनले बताए ।

 

हाल प्रहरीले मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) तथा द्रुत गतिमा सवारी कुदाउने चालकलाई विभिन्न प्रविधिको सहायतामा निगरानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस