आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोबाइल बैंकिङमा आकर्षण बढ्दो, दैनिक कति छ कारोवार ?

एपी खबर २०८० भाद्र ६, बुधबार (८ महिना अघि) ८७ पाठक संख्या

काठमाडौं– मोबाइलमार्फत बैंकिङ कारोबार गर्न तथा कारोबारको भुक्तानीमा सर्वसाधारणको आकर्षण बढेको छ ।स्मार्टफोन तथा इन्टरनेटको बढ्दो पहुँच, बैंक, वित्तीय संस्था र विभिन्न वालेट कम्पनीको सेवा विस्तार तथा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने सरकारी नीतिका कारण प्रयोगकर्ताको संख्यासँगै कारोबार रकम पनि बढ्दै गएको हो ।

 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० असारमा मोबाइल बैंकिङमार्फत २ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ, क्यूआरमार्फत ३० अर्ब १४ करोड रुपैयाँ तथा वालेटमार्फत २० अर्ब ३२ करोड रुपैयाँ कारोबार भएको छ । एक वर्षअघिको तुलनामा मोबाइल बैंकिङ कारोबार ४२ दशमलव ९९ प्रतिशतले वृद्धि हुँदा क्यूआर कोडमार्फतको भुक्तानी १०७ दशमलव ५४ र वालेटको १४ दशमलव ४९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले बताएको छ।

 

एक वर्षको अवधिमा मोबाइल बैंकिङका प्रयोगकर्ता मात्र ३० लाख थपिएका छन् । २०७९ असारमा १ करोड ८३ लाख जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८० असारमा २ करोड १३ लाख पुगेका छन् । यस्तै वालेटका प्रयोगकर्ता १ करोड ३६ लाखबाट १ करोड ८९ लाख पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

 

हाल बैंक, वित्तीय संस्थाका अतिरिक्त विभिन्न भुक्तानी प्रणाली सञ्चालक तथा सेवाप्रदायक कम्पनीले समेत मोबाइल भुक्तानी सेवा सञ्चालन गरिरहेका छन् । विद्युतीय भुक्तानी बढाउन राष्ट्र बैंकले निजी कम्पनीलाई समेत मोबाइल वालेट सञ्चालनको अनुमति दिँदै आएको छ । हाल २७ ओटा कम्पनीले वालेट सेवा सञ्चालन गर्छन् ।

 

हाल मोबाइल बैंकिङबाट प्रतिदिन ३ लाख, बैंक खाताबाट वालेटमा तथा बालेटबाट बैंक खातामा प्रतिदिन २ लाख र प्रतिमहीना १० लाख रुपैयाँ कारोबार गर्न पाउने सीमा छ । यस्तै एक वालेटबाट अर्को वालेटमा प्रतिदिन ५० हजार र प्रतिमहीना ५ लाखको सीमा तोकिएको छ ।क्यूआर कोडलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दर्ता नभएका व्यवसायीका लागि समेत क्यूआर कोड उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ । स्थायी लेखा नम्बर लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको बचत खातामा रकमान्तर हुने गरी क्यूआर कोड उपलब्ध गराउन सक्ने व्यवस्था छ । सभार आजको अर्थ

प्रतिक्रिया दिनुहोस