आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा आमाछोरीको मृत्यु श्रीमान् पक्राउ

एपी खबर २०८० अषाढ २२, शुक्रबार (१० महिना अघि) ७० पाठक संख्या

रौतहटको मौलापुर नगरपालिकामा आमाछोरी मृत फेला परेको घटनामा प्रहरीले श्रीमान्‌लाई पक्राउ गरेको छ।

 

मृत फेला परेकी मौलापुर नगरपालिका–४ पतौरा निवासी २४ वर्षीया कविता साहका श्रीमान् २८ वर्षीय धिरेन्द्र साहलाई रौतहट प्रहरीले पक्राउ गरेको हो। धिरेन्द्रलाई जिल्लाको नेपाल–भारत सीमानाबाट बुधबार पक्राउ गरिएको रौतहटका एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए।

 

गत असार १६ गते मौलापुर नगरपालिका–४ पतौरा टोल निवासी कविता र उनकी दुई वर्षीया छोरी रुही साह मृत फेला परेका थिए। कविताको शव आँगनमा लडिरहेको अवस्थामा र रुहीको शव पंखामा झुन्डिएको अवस्थामा घरमै फेला परेको थियो।

 

घटनाको अनुसन्धानका लागि प्रहरीले यसअघि कविताकी जेठानी र सासुलाई सोही दिन पक्राउ गरेको थियो। धिरेन्द्र भने फरार थिए। फरार रहँदै आएका उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको तथा कविताका ससुरा पनि फरार रहेकाले उनको खोजी कार्य भइरहेको एसपी मगरले जानकारी दिए।

 

‘मृतकका श्रीमान्‌लाई दुई दिनअघि पक्राउ गरेका छौँ। उनका ससुरा भने फरार छन्। उनलाई खोज्दै छौँ,’ उनले भने,’आमाछोरीको मृत्यु कसरी भयो भन्नेबारेमा पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ। आएपछि विस्तृत विवरण खुल्ने छ।’

 

कविताका बुवा विजयशंकर साहले भने थप दाइजो नदिएको भन्द‌ै छोरीलाई पहिलेदेखि नै यातना दिने गरेको र अहिले हत्या भएको बताएका छन्।

 

आमाछोरीको मृत्यु प्रकरणबारे नगरपालिकाकी मेयर रिना साहले पनि सत्यतथ्य छानविनको माग गरेकी छन्।

 

उनले फेसबुकमा लेखेकी छन्, ‘मौलापुर–४ पतौरा निवासी २४ वर्षीया कविता साह र दुई वर्षीया छोरी रुही कुमारीको मृत्यु भएको खबरले स्तब्ध भएको छु। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलिसहित यस घटनाको छानविन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल सरकार गृह प्रशासनको गम्भीर ध्यानाकर्षण गर्दछु।’

 

रौतटह प्रहरीले घटनाको समबन्धमा थप अनुसनधान जारी रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस