आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रिय गौरवका आयोजना जाँच्दै सतर्कता केन्द्र

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ६७९ पाठक संख्या

काठमाडौं  पौष २१ :  राष्ट्रिय सतर्कता केन्द्रले गौरवका सहित २० आयोजनाको प्राविधिक परीक्षण गरिरहेको छ । प्राविधिक परीक्षण कमजोर हुँदा राष्ट्रिय गौरवका आयोजनाको निर्माण गुणस्तरहीन भएको गुनासो आएपछि केन्द्रले प्राविधिक परीक्षण थालेको केन्द्रका प्राविधिक अधिकृत दीपेन्द्र साहले जानकारी दिए ।

कमजोर प्राविधिक परीक्षणका कारण सिक्टा सिँचाइ आयोजनाको नहर परीक्षण नहुँदै ठाउँठाउँमा भत्किएको छ । माटो परीक्षण नै नगरी बनाएका कारण सिक्टा नहर भत्किएको हो । बर्दियाको बबई नदीको जब्दीघाट पुललगायत पुल बनी नसक्दै भत्किएका छन् ।

केन्द्रले जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका रानीजमरा कुलरिया सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना, भेरी–बबई बहुउद्देश्यीय सिँचाइ आयोजना र बबई सिँचाइ आयोजनाको प्राविधिक परीक्षण गरिसकेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण लोकमार्ग (कोसी, कर्णाली, गण्डकी कोरिडोर), लुम्बिनी विकास कोष, पशुपति क्षेत्र विकास कोषको प्राविधिक र हुलाकी सडक आयोजनाको सडक एवं पुल दुवैको परीक्षण सकिएको छ । अधिकांश हुलाकी आयोजनाको सडक भारत र पुल नेपाल सरकारले बनाउँदै छ ।

केन्द्रले भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढमा बन्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रपति चुरे तराई मधेस संरक्षण आयोजनाबारे पनि परीक्षण गरिरहेको छ ।

केन्द्रले योजना र डिजाइन, खरिद प्रक्रिया, कार्यान्वयन र कार्यान्वयनपछिको अवस्था परीक्षण तथा अनुगमन गर्दै आएको प्राविधिक अधिकृत साहले जानकारी दिए । कार्यान्वयनको अवस्थाको ९० प्रतिशत र कार्यान्वयनपछिको अवस्थाको १० प्रतिशत परीक्षण मात्रै हुने गरेको उनले बताए । योजना र डिजाइनको काम भने अहिलेसम्म केन्द्रले नगरेको उनको भनाइ छ ।

केन्द्रले योजना, डिजाइन, ड्रइङ, लागत अनुमान, स्पेसिफिकेसन र भुक्तानीअनुसार काम भएनभएको विषय छानबिन गर्छ । काम नभएको पाइए उसले प्राविधिक बेरुजु (एनसीए) समेत लेख्ने गरेको छ । यस्तो अवस्थामा सरोकारवालालाई सच्चिन सचेत पनि गराउँछ । त्यति गर्दा पनि नसच्चिए कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्छ । १० वटा आयोजनालाई केन्द्रले कारबाहीका लागि सिफारिस गरेको प्राविधिक अधिकृत साहले बताए ।

केन्द्रले प्राविधिक परीक्षण गरेका गौरवका आयोजना

–रानीजमरा कुलरिया सिँचाइ आयोजना

–सिक्टा सिँचाइ आयोजना

–बबई बहुउद्देश्यीय सिँचाइ आयोजना

–बबई सिँचाइ आयोजना

–मध्यपहाडी लोकमार्गउत्तर–दक्षिण लोकमार्ग (कोसी, कर्णाली, गण्डकी कोरिडोर)

–लुम्बिनी विकास कोष

–पशुपति क्षेत्र विकास कोष

–हुलाकी सडक आयोजना

–गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

–निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (बन्ने भनिएको)

–राष्ट्रिपति चुरे तराई मधेस संरक्षण आयोजना

(अन्नपूर्णबाट)

प्रतिक्रिया दिनुहोस