आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हिउँफूलमा कठ्यांग्रियो देश

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ३६२ पाठक संख्या

काठमाडौं, पौष २३ : सोमबार बिहान काठमाडौं उपत्यकालगायतका देशका विभिन्न भूगोलमा वर्षा भएको छ । वर्षासँगै केही स्थानमा हिउँ परेको छ भने जाडोले जनजीवन प्रभावित भएको छ ।

मौसम विज्ञान विभागका अनुसार सोमबार दिनभर नै मौसम बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने क्रम जारी छ । पश्चिमी वायुका कारण मौसम बदली भई वर्षा र हिमपात हुँदा जाडो बढेको छ । मंगलबार पश्चिमी वायुको प्रभाव नेपालको पश्चिमी भेगबाट बाहिरिने भएकाले मौसममा सुधार आउने बताइएको छ ।

काठमाडौंमा वर्षासँगै आसपासका भूभागमा पनि वर्षा जारी छ । काठमाडौं नजिकै चन्द्रागिरीमा सामान्य हिमपात भएको छ । काठमाडौं नजिकैका फुलचोकी, कालिन्चोक पनि हिउँ परे पर्यटकको गन्तव्य बन्न सक्छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा हिमपात भएको छ । थाहानगरको केही स्थानमा सोमबार बिहानै वर्षापछि हिमपात भएको हो । जिल्लाको पर्यटकीय स्थलको रुपमा परिचित दामन र सिम्भन्ज्याङमा हिमपात भएको स्थानीयले बताए ।

बिहानैदेखि पानी पर्न थालेकाे भएपनि आज काठमाडाैंकाे तापक्रम आइतबार बिहानकाे भन्दा केही बढी नै रहेकाे छ । आइतबार बिहान न्यूनतम ४ डिग्री सेल्सियस रहेकाेमा आज बिहान ८ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएकाे छ । दिउँसाे पानी राेकिए जाडाे बढ्न सक्ने अनुमान गरिएकाे छ ।

उता, कर्णाली प्रदेशका हिमाली जिल्लामा आइतबार रातिदेखि हिमपात भएको छ । हिमपातसँगै चिसो बढेको स्थानीयको भनाइ छ । जाजरकोटको उत्तरी, पूर्वी क्षेत्र, पश्चिमको माथिल्लो भाग, माथिल्लो डोल्पा, जुम्ला, कालीकोट, हुम्ला, मुगुमा हिमपात भएको स्थानीय संवाददाताहरुले बताएका छन् ।

हिमपातले चिसो बढे पनि तरकारी, गहुँलगायतका बालीलाई राहत पुग्दा किसान खुशी छन् । हिमपातले घरका छाना सेताम्य भएका छन्। पानी जमेका कारण हिउँ तताएर पानी खाने अवस्था बनेको छ ।

यस्तै, बैतडीको खोड्पेमा सोमबार बिहानैबाट हिमपात भएको छ । हिउँफूलमा देश कठ्यांग्रिएको छ तर किसान खुशी छन्, आन्तरिक पर्यटक हिउँसँग खेल्न आतुर छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस