आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आधारभूत तहमा मातृभाषा अनिवार्य हुनुपर्नेः मन्त्री अधिकारी

AuthorAP Khabar२०७५ फागुन ८, बुधबार (५ साल अघि) ३५९ पाठक संख्या

काठमाडौं, फाल्गुन ८ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आधारभूत तहमा मातृभाषाको पढाइ अनिवार्य हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को) काठमाडौंद्वारा मातृभाषा दिवस–२०१९ का अवसरमा आज आयोजित मातृभाषा र साहित्य विचार गोष्ठीमा मन्त्री अधिकारीले सामुदायिक तथा संस्थागत विद्यालयमा मातृभाषाको पढाइलाई अनिवार्यरुपमा लागू गर्न जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मातृभाषामा शिक्षा भन्ने भनाइलाई प्रभावकारी बनाउनुपर्छ । भाषा आफैँमा एउटा नियम हो । जब ती कुरामा राम्रो ज्ञान भयो भने अरु भाषा सिक्न सजिलो हुन्छ । व्याहारिकरुपमा भाषाको ज्ञान हुनु जरुरी छ । जुन भाषा बोलीमा मात्र सीमित हुन्छ । त्यो भाषा सधैँ टिकाउ हुन सक्दैन । यसका लागि लिपिको विकास गर्नुपर्छ ।’

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले मातृ भाषाको जग बलियो भएमात्र अन्य भाषा बलियो हुने बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जातीय पहिचान मातृभाषाका माध्यमबाट हुनुपर्छ भन्नुभयो । सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले व्यक्तिले जन्म लिँदा आमाको काखमा सिक्ने भाषा नै मातृभाषा भएको बताउनुभयो । उहाँका अनुसार कुनै पनि व्यक्तिलाई आफ्नो घर, परिवार र समुदाय प्यारो लागे जस्तै हरेक व्यक्तिलाई मातृभाषाको महत्व हुन्छ ।

प्राज्ञ डा योगेन्द्रप्रसाद यादवले नेपालमा चार प्रतिशत मानिसले मात्र मातृभाषाको प्रयोग गरेको बताउँदै नेपालका धेरै मातृभाषा लोप हुन लागेकाले यसबारे अभिमुखीकरण गर्नुपर्ने तथा घर र विद्यालयमा एकै भाषा प्रयोग हुनुपर्ने बताउनुभयो । नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्स्ले घरको भाषा र विद्यालयको भाषा एउटै भए बालबालिकालाई सिक्न सजिलो हुने बताउनुभयो । युनेस्को काठमाडौँका प्रमुख क्रिष्टियन म्यान हार्टले मातृभाषाकै जगबाट शिक्षाको प्रारम्भ हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा विद्वान तथा विदुषीबाट कार्यपत्र प्रस्तुत भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै डा कान्छी महर्जनले मातृभाषामा गीत, गजल, कथा, कविता, उपन्यास, निबन्ध, नाटक, समालोचना, खण्डकाव्यलगायत साहित्यिक विधामा महिलाको उपस्थिति हुनुपर्ने बताउनुभयो । त्यस्तै मातृभाषा शिक्षाः अबको बाटो कार्यपत्र प्रस्तुत गर्दै अमृत योञ्जन तामाङले सङ्घ, प्रदेश, पालिका तथा वडा तहमा समेत मातृभाषाको शिक्षा परिचालनका लागि र बालबालिकालाई शिक्षामा गुणात्मक शिक्षा प्रदान गर्नका लागि स्थानीय तहमा नै मातृभाषी समुदायलाई मातृभाषाप्रति सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

 

 

जनता सामाचार

प्रतिक्रिया दिनुहोस