आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कमिसन नबढाए २८ फागुनबाट आपूर्ति बन्द गर्ने ग्यास उद्योगीको धम्की

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) २८७ पाठक संख्या

कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीले आपूर्ति ठप्प पार्ने गरी हड्तालका कार्यक्रम घोषणा गरेका छन् । ६ वर्षदेखि उस्तै रहेको कमिसनदर बढाउन  दबाब दिने उद्देश्यले हड्तालका कार्यक्रम सार्वजनिक गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।

संघले १६ फागुनसम्म उद्योगीले पाउँदै आएको कमिसनदरमा वृद्धि नगरे १७ फागुनबाट ग्यास खरिद नगर्ने जनाएको छ । त्यस्तै, २८ फागुनबाट देशभरका उद्योग बन्द गरेर आपूर्ति ठप्प पार्ने कार्यक्रम सार्वजनिक गरेको छ । ‘हामीले ग्यास बिक्री गर्दा पाउने कमिसन, ढुवानी खर्च, कर्मचारी तथा उद्योग सञ्चालन खर्चलगायतको दर ६ वर्षदेखि वृद्धि हुन सकेको छैन । यो अवधिमा सरकारलाई धेरैपटक वृद्धिका लागि पहल गरे पनि सुनुवाइ नभएपछि हड्ताल घोषणा गर्न बाध्य भएका छौँ,’ भण्डारीले भने ।

हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ४ सय रुपैयाँ निर्धारण गर्दा उद्योगीलाई २ सय ८१ रुपैयाँ ५ पैसा कमिसन र सञ्चालन खर्चबापत उपलब्ध गराइएको छ । यसमा कमिसन प्रतिसिलिन्डर ३२ रुपैयाँ दिइएको छ । उद्योगीले कमिसनदर मात्र बिक्री मूल्यको ५ प्रतिशत हुनुपर्ने माग गर्दै आएका छन् । त्यस्तै,  खर्च पनि महँगी तथा इन्धनको मूल्य घटबढ भएअनुसार समायोजन हुनुपर्ने उनीहरूको माग छ ।

हडताल गरे कानुनी कारबाही हुन्छ : नवराज ढकाल, प्रवक्ता
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

व्यवसायीको मागहरू आज मन्त्रालयमा आइपुगेको छ । यो विषयमा अब हामी छलफल गरेर समाधान निकाल्ने प्रयास सुरु गर्छौंँ । जहाँसम्म हड्ताल गर्ने कुरा छ, ग्यास अत्यावश्यक वस्तु भएकाले हड्ताल गर्न निषेध गरिएको छ । त्यसैले, व्यवसायीले यसमा हड्ताल गर्छु भन्दैमा पाउँदैनन् । यदि हड्ताल गरे सरकारले कानुनी कारबाही गर्छ । तर, हामीले छलफल गरेर निकास निकाल्छौँ । हड्तालको स्थिति सिर्जना हुन दिदैनौँ ।

सधैँ हडतालको दम्भ
-१६ भदौ ०७४ मा नेपाली बुलेट सञ्चालनका लागि सरकारले तदारुकता नदेखाएको भन्दै उद्योग संघले हड्तालको चेतावनी दिएको थियो । उद्योगीले त्यतिखेर १५ दिनको समय दिएर नेपाली बुलेट सञ्चालन गर्ने वातावरण नबनाए  ग्यास अभाव गर्ने त्रास देखाएका थिए । त्यतिखेर दसैँको मुखमा ग्यास अभावको त्रास देखाएका उद्योगीको मागपछि आयल निगम र तत्कालिन आपूर्ति मन्त्रालयले भारत गएर पहल गरेको थियो ।

-७ जेठ ०७३ मा ललितपुरको पाटनमा एचपी ब्रान्डको सिलिन्डर बिस्फोट भई ३ जनाको ज्यान गएको थियो । उद्योगको लापरबाहीका कारण ग्यास पड्किएको निष्कर्ष निकालेर आयल निगमले एचपीको खरिद आदेश अनुमति (पिडिओ) रोक्का गरेको थियो । यसो गर्दा उद्योगले भारतबाट ग्यास ल्याउन नपाई नयाँ सिलिन्डरमा ग्यास भर्न पाएको थिएन । तर, ग्यास उद्योग संघले एचपीको पिडिओ खुला नगरे सबै उद्योगले ग्यास बिक्री रोक्ने भन्दै ७ असारमा हड्तालको घोषणा गरेका थिए । त्यसपछि निगमले बजारमा ग्यासको अभाव हुने त्रासका कारण एचपीको पिडिओ खुला गर्न बाध्य भएको थियो ।

-०७१ को दसैँमा सबै उद्योगले बढी ग्यास आपूर्ति गर्न पाउनुपर्ने माग राखेर हड्तालको चेतावनी दिएका थिए । निगमले कोटा वृद्धि गर्न सुरुमा मानेन । तर, जाडो बढ्दै गएपछि माग बढेका कारण कोटा वृद्धि गर्‍यो ।

-उद्योगीले मागेजति कमिसन वृद्धि गर्न ०६९ र ७० को दसैँअगाडि ग्यास आपूर्ति ठप्प पारेका थिए । दसैँजस्तो विशेष चाडमा आपूर्ति ठप्प पारेर उपभोक्तालाई सास्ती दिएपछि सरकारले आफ्ना माग पूरा गर्ने उनीहरूको उद्देश्य थियो । ०६९ को दसैँमा माग पूरा भएन । दोस्रोपटक ०७० को दसैँमा उद्योगीले आपूर्ति ठप्प पारेर दबाब दिएपछि सरकारले कमिसन वृद्धि गरेर प्रतिसिलिन्डर ३२ रुपैयाँ पुर्‍याइदिएको थियो । हालसम्म सोही कमिसनदर लागू छ ।

nayapatrika

प्रतिक्रिया दिनुहोस