आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीयलाई नेपाली नागरिकता : पक्राउ गर्नुपर्ने सबै फरार

AuthorAP Khabar२०७६ बैशाख २४, मंगलबार (४ साल अघि) ३९८ पाठक संख्या

बैशाख २४
बिर्तामोड : भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र स्थानीयलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । जिल्ला अदालत झापाले नेपाली नागरिकता काण्डमा मुछिएका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय झापालाई पक्राउ पुर्जी दिएको थियो ।

तर अदालतबाट पक्राउ पुर्जी जारी हुनासाथ घटनामा मुछिएका सबै फरार भएपछि समस्या देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । ‘हामीले पक्राउ पुर्जी लिनासाथ सबै फरार भएका छन्, खोजी जारी छ’, उनले भने, ‘भागेर जाने सम्भावनै छैन, कुनै पनि समयमा पक्राउ गर्नेछौं ।’

अदालतले कचनकवल गाउँपालिका–२ का वडाध्यक्ष मेखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ, वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा तथा स्थानीय कविता गुरुङ, गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना र शिवकुमार दाहालको नाम उल्लेख गरेर प्रहरीलाई पक्राउ पुर्जी थमाएको थियो ।

घटना सार्वजनिक भएको दुई साता बितिसक्दा पनि नागरिकताका लागि कागजपत्र मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र केही स्थानीयलाई प्रहरीले पक्राउ गर्न नसक्दा नागरिकता काण्ड रहस्यमय बनेको स्थानीयको गुनासो छ । जनप्रतिनिधि नै संलग्न रहेको सुरुवातमै थाहा हुँदाहुँदै अदालतबाट पक्राउ पुर्जी लिन प्रहरीले ढिला गर्नु र पक्राउ पुर्जी जारी भएपछि पनि पक्राउ नुहुनुले नागरिकता काण्डमा स्थानीय प्रहरीको पनि मिलेमतो छ कि भन्ने आशंका बढेको कचनकवलका स्थानीय यादव अधिकारीले बताए । ‘सबै कागजपत्र मिलाएर प्रशासन कार्यालयमा पुगेका भारतीय पक्राउ पर्नासाथ जनप्रतिनिधिको निगरानी गर्न प्रहरीले सुरु गर्नुपर्ने थियो, त्यो पनि भएन, भाग्ने मौका धेरै पाए,’ उनले भने ।

भारतीयलाई नेपाली नागरिकता
नेपाली नागरिकता लिन खोज्ने घटनाका मुख्य अभियुक्त भारतीय नागरिक भूपाल गुरुङलाई प्रहरीले वैशाख १० गते जिल्ला प्रशासन कार्यालय भद्रपुर परिसरबाटै समातेको थियो । हालै भारतमा सम्पन्न लोकसभा निर्वाचनमा मत दिएका भुपालको औंलामा मसी लागेको देखेपछि उनी भारतीय नागरिक भएको खुलेको थियो । बरामद भएको मतदाता परिचयपत्रमा भूपालका बाबुको नाम चन्द्रबहादुर गुरुङ भएको उल्लेख छ । भूपाललाई आफ्नो जेठो छोरो बताउँदै नागरिकता दिलाइदिन प्रशासन कार्यालय पुगेका झापा कचनकवल गाउँपालिका–२ का ५५ वर्षीय बमबहादुर गुरुङ पनि समातिएका थिए । ती दुईबाहेक प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।

जन्मदर्ता बनाइदिने, नागरिकता सिफारिसमा सहयोग गर्ने र सर्जिमिन मुचुल्कामा हस्ताक्षर गर्ने वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि र केही स्थानीय फरार भएकाले उनीहरू जाने सम्भावित स्थानको पहिचान गरी खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीको भनाइ छ । ‘उनीहरू भाग्नु भनेको आफूहरू दोषी हौं भन्ने प्रमाण थप गर्नु हो, अदालतमै आएर आत्मसमर्पण गर्न सक्ने बाटो हुँदाहुँदै फरार भएका छन्, खोजी कार्य तीव्र छ’, डीएसपी श्रेष्ठले भने ।

जिल्ला प्रहरी कार्यालय झापाले घटना भएको कचनकवल गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय बनियानीलाई अदालतबाट प्राप्त पक्राउ पुर्जी पठाएको थियो । इलाका प्रहरी कार्यालयले भने पक्राउ गर्नुपर्ने कोही पनि घरमा नभएको जानकारी जिल्ला प्रहरी कार्यालयलाई दैनिक दिँदै आएको छ । पक्राउ पुर्जी हात पर्नासाथ खेजी सुरु गरिएको इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायव निरीक्षक उदयशमशेर राणाले बताए ।

वैशाख १० मा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ परेका दुवै जनालाई झापा प्रहरीले भोलिपल्टै जिल्ला अदालत झापामा नागरिकतासम्बन्धी मुद्दा दर्ता गरेको थियो । तर मुद्दा दर्ता भएको ७ दिनपछि अदालतले घटनामा संलग्न अन्यलाई पनि समात्न पक्राउ पुर्जी जारी गर्दा सबै फरार भएका हुन् ।

भारतीय युवकलाई नागरिकता दिने प्रक्रियाको सुरुवातमा कचनकवल गाउँपालिका–२ का वडाध्यक्ष मेखबहादुर भट्टराईले नागरिकताका लागि सिफरिस बनाइदिएका थिए । वडा सचिव हरि गौतमले जन्मदर्ता र सर्जिमिन मुचुल्का गरेका हुन् । सर्जिमिन गर्नेहरूमा पाँच जना स्थानीय संलग्न छन् । स्थानीय कविता गुरुङ, गंगाप्रसाद भट्टराई, शिवकुमार दाहाल, प्रेमप्रसाद तिम्सिना र तुलसीराम गुरुङ संलग्न भएको प्रशासन स्रोतले जनाएको छ । मुचुल्कामा वडा सदस्य धनबहादुर गुरुङ र वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडाले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस