आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दश लाखको मटर बरामद

AuthorAP Khabar२०७६ बैशाख २४, मंगलबार (४ साल अघि) ६५७ पाठक संख्या

बैशाख २४ लहान ।
सिरहाको माडर सीमाक्षेत्रमा तेस्रो मुलुकबाट आयात चार सय ४० बोरा हरियो मटर प्रहरीले बरामद गरेको छ । सीमाक्षेत्रमा घर भाडा लिएर आठ महिनादेखि भारतीय नागरिक र नेपालका केही तस्कर मिलेर नेपालबाट भारत मटर पुर्‍याउने गर्दै आएको खुलासा भएको छ ।

भारत पुर्‍याउन तयारीमा रहेको अवस्थामा नेपाल प्रहरीको डिआइजी हरिबहादुर पालका टोलीले सो हरियो मटर बरामद गरिएको हो । बरामद गरिएको मटर माडर भन्सारमा बुझाइएको छ भने दुई मध्ये एक गोदाम खालि गरिसकिएको छ । अर्का एक गोदाममा ४ सय ४० बोरा मात्रै मटर भारत लैजाने तयारीमा रहँदा प्रहरीले नियन्त्रणमा लिएको हो । भाडा लिएको घरदेखि २ सय मिटर दुरीमा नेपाल भारतको सीमा रहेको छ ।

त्यस सीमामा सशस्त्र प्रहरीको मात्र ड्युटी रहेको छ । स्थानीयहरू भन्छन् — तस्करहरूलाई संरक्षणको रूपमा सशस्त्र प्रहरीले नै आफ्नै अगाडिबाट मटर निकासी गराउने काम भइरहेको छ । प्रहरीकै मिलेमतोमा राती १२ देखि ३ बजेसम्म सो मटर पिकअप गाडीबाट भारत निकासी हुने गरेको स्थानीयहरू बताउँछन् ।

बरामद गरिएको मटरको मूल्य करिब १० लाख रहेको छ भने एक क्वाँटलमा १८ सय नेपाली रुपैयाँ मुनाफा हुने गरेको छ भने बरामद गरिएको मटरमा करिब ४ लाख मुनाफा हुने रहेको छ । उक्त बरामद गरिएको मटर साक्षी इन्टरप्राइजेज लहान ८ को नाममा ८६ हजार १ सय र साक्षीकै नाममा २ लाख ४६ हजारको वैशाख २२ गतेको एउटै मितिमा दुई पटक बिल काटिएको छ ।

यस्तै रुँगटा प्रोसेसिङ इण्डट्रीज निपनीमाल ८ (परवानीपुर) बाराका नाममा ३ लाख ९५ हजार २ सय ५० रुपैयाँको बिल वैशाख २१ गतेको मितिमा काटिएको छ ।

उक्त खरिद गरिएको बिल सुमन ट्रेड सेन्टर माडर सिरहा १६ को नाममा काटिएको हो । खरिद गरिएको मटर खुद्रा बिक्री मात्र गर्न पाउने प्रावधान रहेको छ । तर, तेस्रो मुलुकको मालसामान नेपालबाट प्रहरीकै मिलेमतोमा सहज रूपमा तस्करी हुँदै आएको छ । डिआइजी पालका टोलीले सिरहा १६ माडरको नाममा खरिद बिल रहेकोमा सिरहा १७ माडरबाट अवैद्य रूपमा रहेको मटर बरामद गरेको छ । जहाँ वाणिज्य दर्ता प्रमाणपत्रमा सुमन ट्रेड सेन्टरको कारोबार तीन लाखसम्म मात्र उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस