आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विप्लवकाे बन्द : बिहानैदेखि देशैभर बम आतंक, कहाँ-कहाँ के-के भयाे ?

AuthorAP Khabar२०७६ जेष्ठ १३, सोमबार (४ साल अघि) ३८१ पाठक संख्या

जेठ १३ काठमाडाैं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव अहिले मुलुकभर देखिएको छ । लामो समयदेखि सरकारसँगको असहमितमा विभिन्न किसिमका घटना गराउदै आएको विप्लवले आज (जेठ १३ गते सोमबार) गरेको बन्द आह्वानसँगै विभिन्न ठाँउमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका समाचार प्राप्त भएको छ ।

भक्तपुरमा शंकास्पद बस्तु

साेमबार बिहानै भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक शंकास्पद वस्तु फेला परेकाे थियाे । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाकाे टाेलीले निष्कृय पारेको छ । सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो ।

बारामा भारतीय ट्रक जल्यो

बन्दका क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३, बजनीमा आइतबार बिहान रोकिराखेको भारतीय लरीमा अज्ञात समूहले आगजी गरेको छ । एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरी नेपाल-भारत पेट्रोलियम पाइपलाइनका लागि पाइप बोकोर आएको थियो ।

अर्घाखाँची र बाग्लुङमा शंकास्पद वस्तु फेला

अर्घाखाँचीकाे सन्धीखर्कस्थि आवासीय माविमा शंकास्पद वस्तु फेला परेकाे छ । बाग्लुङकाे बाग्लुङ नगरपालिका २ कुडुलेचाेक नजिकै शंकास्पद वस्तु फेला परेकाे थियाे । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाकाे टाेलीले निष्कृय पारेको छ ।

हेटाैंडामा मिनी ट्रकमा आगजानी र प्रेसर कुकर बम फेला

बन्दकर्ताद्वारा हेटाैंडाकाे चाैकीटाेलमा ७ ख ९४९३ नम्बरकाे मिनी ट्रकमा आगजानी गरेकाे छ । त्यस्तै हेटौँडाकै बुद्धचोक नजिक प्रेसर कुकर बम फेला परेको थियो । बम राखेको थाहा पाउनासाथ प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको छ ।

पोखरामा तीन ठाउँमा शङ्कास्पद वस्तु फेला

पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु फेला परेकाे जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयाे ।

नवलपुर ट्रकमा पेट्रोल बम प्रहार

यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।

मोरङमा प्रेसर कुकर बम फेला

मोरङको सुन्दरहरैंचा ७ ठडिया चोकमा पनि प्रेसर कुकर बम फेला परेकाे थियाे । कुकरमा रातो कपडाले वेरिएको राखिएको अबस्थामामा फेला परेकाे हाे । उक्त प्रेसर कुकर बमलाई सेनाको टोलीले निष्कृय पारेको छ । त्यस्तै मोरङकै बुढिगंगामा पनि शंकास्पद वस्तु भेटिएको छ ।

बुढिगंगा गाउँपालिका–१ आरती स्ट्रिप्स छेउमा रहेको उक्त बम जस्तो देखिने शकास्पद वस्तु फेला परेको छ । निस्क्रिय बनाउन सेनाको बम डिस्पोजल टोली टोली जाँदैछ ।

कोशी राजमार्गमा शंकास्पद वस्तु फेला

मोरङको बुढीगंगा गाउँपालिका–१ को कोशी राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ। इटहरी धरान सडक खण्डको बीचमा चारकोसे झाडीमा पनि शंकास्पद वस्तु फेला परेको हाे ।

प्रेसर कुकर जस्तो वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरी टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको विशेषज्ञ टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयाे।

मकवानपुरमा गाडीमा जलायाे

मकवानपुरको थाहा नगरपालिकामा विप्लव नेतृत्वको नेकपाको क्रममा सोमबार बिहानै गाडी जलाइएको छ। बिहान ४ बजेको समयमा गाडी जलाइएको हो। बन्दका दिन बिहानै थाहा नगरपालिका-१ कुन्छाल नजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भटराईले बताउनुभयाे ।

सुर्खेतमा यात्रुवाहक बसमा आगजनी

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसमा विप्लवका कार्यकर्ताले आगजनी गरेका हुन् ।

विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेकाे जिल्ला प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्री जानकारी दिनुभयाे । उनीहरू हतियारसहित आएका समेत उहाँले बताउनु भयाे ।

क्षेत्रीका अनुसार आगजनीबाट बस पूर्णरुपमा क्षति भएको छ । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।

रौतहटमा प्रेसरकुकर बम फेला

रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ । उक्त बस्तु बम भएको आशंका गरिएको छ। सूचनापछि नेपाली सेनाको डिस्पोजल त्यहाँ पुगेको प्रहरीले जनाएको छ।

महोत्तरीमा शंकास्पद वस्तु फेला

महोत्तरीको बर्दिबास नगरपालिकाको मूल गेटमा शंकास्पद वस्तु फेला परेको छ । कागजको कार्टुन भित्र प्रेसर कुकर र तारहरू भेटिएकाले त्यो बम भएको हुन सक्ने अनुमान गरिएको छ । सो शंकास्पद वस्तु बम भएको हुन सक्ने भएकाले सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको प्रहरी नायव उपरीक्षक निशान खड्काले बताउनुभयो ।

धादिङमा विस्फोटक पदार्थ फेला

धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । उक्त विस्फोटक पदार्थलाई नेपाली सेनाको निस्क्रिय पारेको छ ।

ललितपुरमा प्रेसर कुकर बम फेला

ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान फेला परेको उक्त बम नेपाली सेनको टोलीले डिस्पोज गरेको छ ।

कपिलवस्तुमा दुई स्थानमा शंकास्पद बस्तु फेला

कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला खरब प्राप्त भएकाे छ ।

बन्दको पूर्वसन्ध्यामा आइतबार अपराह्न काठमाडौंका तीन स्थानमा बम विफोट हुँदा चार जनाको मृत्यु भएको थियो । सुकेधारा, घट्टेकुलोमा गरी चार जनाको मृत्यु भएको हाे । चन्द्रागिरीस्थित थानकाेटमा समेत विस्फाेट हुँदा ८ जना घाइते भएका छन् ।

आइतबार ललितपुरकाे लगनखेल, ग्वार्को, सातदोबाटोलगायतका स्थानमा पनि शंकास्पद वस्तु भेटिएका थिए । नेपाली सेनाकाे टाेलीले ती स्थानमा राखिएका बम तथा शंकास्पद वस्तु डिस्पाेज गरेकाे थियाे ।
श्रोत news24

प्रतिक्रिया दिनुहोस