आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वकप छनौटमा नेपालको प्रतिद्वन्दीहरु टुंगो लाग्दै

AuthorAP Khabar२०७६ श्रावण १, बुधबार (४ साल अघि) ३७६ पाठक संख्या

श्रावण १ काठमाडौं,
फिफा विश्वकप २०२२ को लागि हुने दोश्रो चरणको छनौटको ड्र आज सार्वजनिक हुँदैछ ।

कतारमा आयोजना हुने उक्त विश्वकपमा ४८ राष्ट्र सहभागि हुने चर्चा चलेपनी फिफाले यसको सम्भावनालाई नकार्दै ३२ राष्ट्रमात्र खेलाउने बताइसकेको छ ।

सोही प्रतियोगिताको लागि एसिया क्षेत्रका ४० राष्ट्रलाई विभिन्न ८ समुहमा विभाजन गरेर छनौट चरण खेलाइने प्रतियोगिताको स्वरुप अनुसार ड्र सार्वजनिक गरिन लागेको बताईन्छ ।

यो चरणको छनौट खेलहरु डबल राउन्ड रोबिन लिग स्वरुपमा खेलाइन लागेको थाहा भएको छ । होम र अवे को आधारमा खेलाइने खेलहरु आगामी सेप्टेम्बर ५ देखि अर्को वर्षको जुन ९ सम्म खेलाइने बताईएको छ ।

एसिया क्षेत्रको शिर्ष ३४ टोलीमा पर्न सफल भएपछि नेपालले सिधै दोश्रो चरण प्रवेश पाएको छ । नेपाल भन्दा तल रहेका टोलीले पहिलो चरणको छनौट प्रतियोगिता खेलिसकेका छन् ।

गत संस्करणको छनौटमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो । भारतसँग उसको गृहमैदानमा २–० गोल अन्तरले पराजित नेपाल आफ्नो मैदानमा भारतसँग ०–० को बराबरीमा रोकिँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

यो प्रतियोगिता विश्वकपको लागि मात्र नभएर एसियन कपको पनि छनौटको रुपमा रहेको छ । यस प्रतियोगिताको समुह चरणको ८ वटा समुह विजेता र शिर्ष ४ उपविजेता टोली आगामी प्रतियोगिताको लागि छनौट हुनेछन् । ती १२ राष्ट्रले सन् २०२३ मा हुने एसियन कप पनि खेल्न पाउनेछन् ।

यसरी विश्वकपको अन्तिम छनौट प्रतियोगिताको शिर्ष ४ टोलीले विश्वकपमा सिधै स्थान बनाउनेछन् भने पाँचौ टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्दै विश्वकपमा स्थान बनाउने अर्को मौका पाउनेछ ।

नेपालले हालसम्म विश्वकप छनौटमा गतिलो प्रदर्शन गर्न सकेको छैन । पछिल्लो समय राम्रो फुटबल खेल्दै आएको नेपालले यस विश्वकपमा सुधारिएको प्रदर्शन गर्दै नेपाली फुटबललाई अगाडी बढाउने अवसर पाएको विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस