आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिरहाको बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) २६४ पाठक संख्या

सिरहा, साउन ३

सिरहाको बाढी प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अतिप्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहा नगरपालिका-६ बसबिट्टा, सारस्वर, कल्याणपुर नगरपालिका-३ का बाढीपीडितलाई लक्षित गरी निःशुल्क घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य अधिकृत उमेश कर्णले जानकारी दिनुभयो ।

बाढी प्रभावित स्थानमा रोगको सङ्क्रमण फैलिन नदिन र बाढीपीडितलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा बाढीबाट विस्थापित भई स्थानीय विद्यालयमा शरण लिएर बस्दै आएका स्थानीय ३०० बाढीपीडितको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।

यसैगरी जिल्लाको कर्जन्हा गाउँपालिका, लहान नगरपालिकाको विभिन्न वडालाई लक्षित गरी बाढी प्रभावित स्थानमा समेत स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको अधिकृत कर्णको भनाइ छ । शिविरमा दुषित पानी, खाना तथा वातावरणका कारण हुने कमलपित्त, झाडापखाला, ज्वरो, रुघाखोकी, वान्ता आउने, रिङ्गटा लाग्नेजस्ता रोगको परीक्षण र निःशुल्क औषधिको समेत प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।

बेलिब्रिज निर्माणपछि आवागमन सञ्चालन

अबिरल वर्षाले कटान गरेको पुलमा सशस्त्र प्रहरीले बेलिब्रिज (अस्थायी पुल) निर्माण गरेपछि विगत पाँच दिनदेखि अवरुद्ध सिरहाको सुखीपुर–बरियारपट्टी सडक सञ्चालन भएको छ । सिरहाको सुखीपुर–बरियारपट्टी सडक जोड्ने पुलको किनारामा बाढीले कटान गरेपछि गत असार २९ गतेदेखि उक्त सडकमा आवागमन ठप्प भएको थियो ।

पुलको किनारामा कटान गर्दा सडक सञ्जाल नै टुटेपछि बेलिब्रिज निर्माण गरी आवागमनलाई सहज बनाइएको सशस्त्र बेसक्याम्प बरियारपट्टीका प्रहरी निरीक्षक दीपक कोइरालाले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले पुलमा बेलिब्रिज निर्माण भएपछि सवारीसाधन सञ्चालन भएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस