आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२० हजार इन्जिनियरको बिमा गरिँदै

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) २४१ पाठक संख्या

श्रावण ३:

नेपाल इन्जिनियर्स एसोसिएसनले ‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियरिङ सेवा’ भन्ने मूल नारासहित ३ र ४ साउनमा ५७औँ इन्जिनियर दिवस मनाउने भएको छ । दिवसका अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रमको शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एसोसिएसनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले जानकारी दिए । उनका अनुसार एसोसिएसनका प्रादेशिक कार्यालयमा समेत विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको छ ।

दिवसबारे जानकारी दिन बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष बज्राचार्यले मुलुकमा प्राविधिक जनशक्तिको सेवाको सम्मान तथा दक्षताको उचित सम्बोधन नभएसम्म पूर्वाधारको विकासमार्फत देशकै आर्थिक–सामाजिक विकास सम्भव नभएको बताए । एसोसिएसनले २० हजार इन्जिनियरको दुर्घटना बिमा नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग गर्न लागेको उनले बताए । उक्त बिमाको बिमांक रकम १० लाख रुपैयाँ रहनेछ । सरकारले बजेट र नीति तथा कार्यक्रममा पनि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने भनिसकेकाले त्यसमा खुसी व्यक्त गरे ।

कार्यक्रममा एसोसिएसनका महासचिव ई. छविराज पोख्रेलले इन्जिनियरहरू देशको महत्वपूर्ण जनशक्ति भएकोले उनीहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउनुपर्ने बताए । इन्जिनियरिङ सेवा ऐन आउन लागेकोमा समेत उनले खुसी व्यक्त गरे ।

दिवसका अवसरमा इन्जिनियर समुदायका तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्‍याएका इन्जिनियर, आर्किटेक्टलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम छ । त्यस्तै, डिस्टिंग्युस्ड अन्टरप्रन्युरसिप अवार्ड, सहिद ई. नवराज विष्ट स्मृति अवार्ड, आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्ड, आउटस्ट्यान्डिङ वुमेन इन्जिनियर अवार्ड, र इन्जिनियर्स एप्रिसिएसन अवार्ड गरी ६ विधामा अवार्ड पनि प्रदान गरिने एसोसिएसनले जनाएको छ । अवार्डका लागि स्वतन्त्र समितिले नाम छनोट गरिरहेको र भोलि दिवसकै दिन सार्वजनिक गर्ने अध्यक्ष बज्राचार्यले बताए ।

दिवस कार्यक्रमको मुख्य प्रायोजन गोदावारी स्टिल्सले गरेको छ । गोदावारी स्टिल्सका निर्देशक पंकज कर्णले दिवसको सफलताको कामना गरे । गत वर्ष मात्रै स्थापित गोदावरी स्टिल्सले पूर्वाधार क्षेत्रमा टेवा पुर्‍याउन राम्रो र गुणस्तरीय उत्पादन गर्दै आएको सुनाए ।

इन्जिनियर्स दिवसको उपलक्ष्यमा एसोसिएसनले गत शनिबार एसोसिएसनको आफ्नै कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ । त्यस्तै, काठमाडौंस्थित युएन पार्क परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस