कार्तिक २४
काठमाडौँ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको पनि उनको दाबी छ ।
शनिबार रिपोटर्स क्लब नेपालले काठमाडाँैमा आयोजना गरेको साक्षात्कारमा मन्त्री विश्वकर्माले साग प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नेगरि आफूहरुले दिनरात काम गरिरहेको बताए । उनले भने,‘सागको लागि करिब करिब तयारी पूरा हुने दिशामा छ । यो गेम भव्य रुपमा र सफलतापूर्वक सम्पन्न हुने विश्वास दिलाउन चाहन्छु ।’ उनले साग राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकोले खेलप्रेमी र सरोकारवाला सबैले गम्भिरतापूर्वक आ–आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्नुपर्ने सुझाएका छन् ।
मन्त्री विश्वकर्माले सामाजिक सञ्जालमा साग प्रतियोगिता समयमै नहुने हो कि भनेर अन्यौलतासँग जोडेर गरिएका टिकाटिप्पणीप्रति भने असन्तुष्टी पोखे । आफूहरु सरकारमा आएपछि उक्त प्रतियोगिता समयमै गर्नेगरि अभिभारा र अवसरको रुपमा लिएको र सोहीअनुसार काम गरेको पनि उनले सुनाए । उनले साग आयोजना गर्नको लागि निकै जोखिम र चूनौतिहरु रहेपनि आफूहरुले ती सबै चूनौति र जोखिमहरुको सामना गरेर अघि बढेको जिकिर गरेका छन् ।
उनले सागको लागि नेपाली खेलाडीहरुलाई प्रशिक्षणदेखि व्यवस्थापकीय सबै काम भैरहेको पनि जानकारी दिए । त्यस्तै, सागकोलागि विदेशी पाहुनाहरुलाई आमन्त्रण गर्ने काम पनि भैसकेको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस