आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गैँडा गणनाका लागि हात्ती तयार गरिँदै

AuthorAP Khabar२०७६ मंसिर १२, बिहिबार (४ साल अघि) ४५३ पाठक संख्या

मंसिर १२ काठमाडौं ।

आउँदो चैत महिनामा हुने गैँडा गणनाका लागि हात्ती तयार पारिन थालिएका छन् ।  एकसिङ्गे गैँडा पाइने चितवन जस्तै पर्सा, बर्दिया, शुक्लाफाँटामा पनि यसैगरी तयारी हुँदैछ ।

हरेक चार वर्षमा हुने गैँडा गणनाअनुसार यस वर्ष गणना हुन लागेको हो । यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो ।

क्यामरा ट्र्यापिङ गर्नका लागि होस् वा प्रत्यक्ष जङ्गलमा विचरण गरेर नै किन नहोस्, गैँडाको वर्तमान अवस्था पत्ता लगाउन हात्ती चढेर गणकहरूले काम गर्छन् ।

जङ्गलका सबै क्षेत्रमा कच्चा सडक नभएकाले पनि हात्तीको प्रयोग बढी हुन्छ । सबैभन्दा धेरै गैँडा चितवनमै भएकाले विशेष तयारी चलिरहेको छ ।

त्यस्तैगरी गैँडाको अवस्थिति रहेको बर्दिया, पर्सा र शुक्लाफाँटा निकुञ्जमा पनि गैँडा गणनाको तयारी तीव्र छ ।

गैँडा गणना गर्ने मिति तय नभए पनि चैतमै गैँडा गणना सुरु हुने वन्यजन्तु संरक्षण तथा निकुञ्ज विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

“गैँडा गणनाका लागि फिल्डमा के के प्रविधि र सामग्री चाहिन्छ भन्ने सूची तयार पार्ने काम चलिरहेको छ”, उनले थपे, “केही सूचीका सामग्री सम्बन्धित निकायमा माग पनि भइसक्यो ।”

उनका अनुसार कुन कुन निकायसँग सहकार्य गरेर जाने र प्रविधिजन्य विषय र व्यवस्थापनमा कसरी अघि बढ्ने भन्ने बारेमा थप छलफल चलिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस