आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली सेनाद्धारा जितपुरमा एकीकरण स्मृति उद्यान निर्माण कार्य शुरु

AuthorAP Khabar२०७७ बैशाख २७, शनिबार (३ साल अघि) ५६२ पाठक संख्या

एपी खबर
जीतपुर : नेपाली सेनाले नेपाल एकीकरणको क्रममा अँग्रेजसँग भएको युद्धको स्मरणमा पार्क निर्माण गर्ने भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा केन्द्र सरकार र प्रदेश २ सरकारको सहयोगमा नेपाली सेनाले एकीकरण स्मृति उद्यान बनाउने भएको हो । पार्कको शनिबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गर्नुभएको हो ।

पार्क जीतपुरमा रहेको नेपाली सेनाको श्री नं २८ बाहिनी परिसरमा बन्ने भएको छ । २ विगाहा २ कठ्ठा ३ धुर क्षेत्रफलमा बन्न लागेको सो पार्क निर्माणका लागि कुल २१ करोड ९५ लाख ८८ हजार रुपैयाँ लाग्ने बताइएको छ । पार्कको निर्माण वि सं २०७८ जेठ ३१ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तत्कालीन समयमा अँग्रेजविरुद्धको युद्धमा तराईवासी र पहाडवासीले संयुक्त रुपमा लडेर अँग्रेज सेनाहरूलाई परास्त गरेको स्मरणमा यो पार्क बनाउन लागिएको नेपाली सेनाका सहायक रथी अनुपजंग थापाले जानकारी दिनुभयो ।

उहाले पार्क निर्माणको पहिलो चरणमा तीन वटा प्याकेजमा काम सुरु गर्न लागिएको बताउनुभयो । पार्क भित्र हुने एक्जिभिसन हल निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने भएको छ । कुल ७ करोड लाग्ने हलका लागि प्रदेश २ सरकारले चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरिसकेको छ । सोको लागि हेटौंडास्थित भैरव कन्सट्रक्सनले एक करोड ८४ लाख २२ हजार नौ रुपैयाँ ५९ पैसामा ठेक्का सकार गरेको छ ।

नेपालको एकीकरण अभियानमा मधेसवासी नेपालीले दिएको योगदान झल्काउन, नागरिक सैनिक सम्बन्ध प्रगाढ बनाउन, राष्ट्रिय एकताको जिम्मेवारी निर्वाह गर्न र परम्परा प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले पार्क बनाउन लागिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका सहायक रथी थापाले नेपाल एकीकरणमा मधेसवासी जनताले खेलेको भूमिकाको कदर गर्न पार्क निर्माण गर्न लागिएको जानकारी दिनुभयो । ‘परापूर्वकालदेखि नै मधेसवासी र पहाडवासी नेपालीबीच सहकार्य रहँदै आएको छ, नेपालको एकीकरणमा नेपाली मधेसवासीको योगदान रहेको ‘खासगरी नेपाल अंग्रेज युद्धताका अंग्रेजहरूको कतिपय फौज मधेसका इलाकाबाट आएको र उनीहरूलाई रोक्न गोर्खाली फौजलाई तराई मधेसका जनताले योगदान र बलिदान दिएको इतिहासलाई यहाँ दर्शाईने जानकारी दिनुभयो ।

यस पार्कको निर्माणका लागि केन्द्र सरकारले पार्क निर्माणका लागि ५ करोड बजेट दिएको छ । माटो भर्ने, खुल्ला मञ्च बनाउने तलेजु भवानीको मन्दिर, दुईवटा गेट बनाउने लगायत कामका लागि तीन करोड ४७ लाख २७ हजार २ सय ८६ रुपैयाँ २८ पैसामा हेटौंडाकै हनुमान कन्स्ट्रक्सनले ठेक्का पाएको छ । दुवै कम्पनीले आफ्नो जिम्मेवारीको काम असार २५ गतेसम्म पुरा गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस