आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने सामान्य प्रशासनको निर्णय

एपी खबर २०८० श्रावण ६, शनिबार (९ महिना अघि) ७६ पाठक संख्या

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने निर्णय गरेको छ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको विशेष उपस्थितिमा शुक्रबार बसेको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो।

 

पदभार ग्रहण गरेदेखि नै मन्त्री मोदीले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।मन्त्री मोदीको प्रतिबद्धता र त्यसपछिको विभिन्न निर्णयको निरन्तरतामा मन्त्रालयले यस्तो निर्णय गरेको हो।निर्णयसँगै मन्त्रालयले निमित्तमार्फत् सञ्चालन भइरहेका स्थानीय तहमा दरबन्दीअनुसारका कर्मचारी खटाउनेछन्।मन्त्री मोदी आउनुअघि झण्डै साढे ३ सय स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए। मन्त्री मोदीले यो संख्या १ सय ४२ मा झारेका थिए।

 

बैठकको निर्णयमा भनिएको छ, ‘स्थानीय तहका यस मन्त्रालयबाट खटाई पठाउने प्रमुख प्रशासकीय अधिकृतको दरबन्दीमा कानुनबमोजिम निर्धारण गरेको पद तथा श्रेणीका कर्मचारी मात्र खटाउने नीति लिने तथा निमित्त खटाइ कामकाज गर्ने प्रचलन निरुत्साहित गर्ने नीति लिने।’यसैगरी, बैठकले प्रदेश सचिवको जिम्मेवारीमा पनि कानुनबमोजिम तोकिएको पद तथा श्रेणीको कर्मचारी पठाउँदा जेष्ठताका आधारमा मात्रै पठाउने निर्णय पनि गरेको छ।

 

बैठकले स्थानीय तहहरू वेबसाइट, सफ्टवेयरलगायत सूचना प्रविधिको उपयोग गर्दा साइबर सुरक्षाको संवदेशीलताप्रति विशेष सजगता अपनाएर मात्र उपयोग गर्ने गराउने प्रबन्ध मिलाउने निर्णय पनि गरेको छ।बैठकमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले मन्त्रालयले सबै क्षेत्रमा उल्लेख्य सुधारका कामहरू गरिरहेको बताए।त्यस्तै, मन्त्री मोदीले पदमा रहुन्जेलसम्म इमान्दारितापूर्वक देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए।

 

उनले प्रशासनिक र व्यवस्थापकीय क्षेत्रको उल्लेख्य सुधारमार्फत् सुशासन कायम गर्ने आफ्नो प्राथमिकतामा सबैले साथ दिन आवश्यक रहेको समेत औंल्याए।बैठकमा मन्त्रालयका सहसचिवहरू, मन्त्रालय मातहतका कार्यालयका प्रमुखहरूले आ-आफ्नो कार्यालयबाट भइरहेको कामको प्रगतिसहित आगामी कार्ययोजनाबारे धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस