आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माधवकुमार नेपाललाई विश्वास पात्रहरूबाट धोका, एमाले विभाजनकारीको सूचीबाट खनालसहित कम्तिमा ५ नेताको नाम हट्ने एमाले नेता थापाको दाबी

एपी खबर २०७८ भाद्र २, बुधबार (२ साल अघि) २९६ पाठक संख्या

काठमाडौं । सत्ताबाट बाहिरिएको एक महिना लगत्तै ठुलो दल नेकपा एमाले अन्ततः विभाजीत भएको छ । यद्यपि एमाले विभाजनले कानुनी मान्यता पाउन भने बाँकी छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेशमा टेकेर नेकपा एमाले (समाजवादी) नामक नयाँ पार्टीको दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नेता नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता रहनेगरी निर्वाचन आयोगमा दिएको निवेदनमा ९५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् ।

नेकपा एमाले विभाजित हुँदा माधव समूहमा रहँदै आएका अधिंकाश नेताहरूले माधव नेपालको साथ छाडेका छन् । स्थायी कमिटीमा रहेका मुकुन्द न्यौपाने र बेदुराम भुसालबाहेकका नेताहरू भने माधवको पक्षमा उभिएनन् ।

नेताहरू भीम रावल, युवराज ज्ञवाली, अष्टलक्षी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तले नेता नेपाललाई धोका दिएका छन् ।

खरो रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोध गर्दै आएका नेताहरू अन्नतः नेपाललाई साथ नदिने निष्कर्षमा पुगे । यसले गर्दा नेता नेपाललाई धक्का लागेको छ ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले भने अझै निर्णय गरिसकेका छैनन् । निर्वाचन आयोगमा आज दिइएको निवेदनमा गौतमको नाम उल्लेख छैन । गौतम आफूहरूतिरै रहेको माधव समूहको दाबी छ । नेता राजेन्द्र पाण्डेले गौतम आफूहरूसँगै रहेको दाबी गरे ।

प्रस्तावित नयाँ पार्टीमा एमालेको केन्द्रीय कमिटीमा रहेका ६५ र प्रतिनिधि सभा र राष्ट्रियसभाका गरी ३२ सांसद छन् ।

बरु, साउन ३ गते प्रधानमन्त्री शेरबहादुरले विश्वासको मत लिनुअघि ओली समूहमा रहेका किसान श्रेष्ठ, प्रेम आलेले नेपाललाई साथ दिँदा उनका विश्वास पात्रहरूले भने साथ दिएनन् ।

नेता नेपाललाई दोस्रो तहका नेताले साथ छाडे पनि केन्द्रीय सदस्यहरू विजय पौडेल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, राजेन्द्र पाण्डे लगायतले भने साथ दिएका छन् ।

यसैबिच नेकपा एमालेका नेता सुर्य थापाले एमाले विभाजनकारीको सूचीबाट वरिष्ठ नेता झलनाथ खनालसहित कम्तिमा ५ नेताको नाम हट्ने दाबी गरेका छन् ।

एमाले विभाजन गरेर नेकपा एमाले (समाजवादी) पार्टी दर्ता गराएका नेताहरूको सूची ट्विटरमा राख्दै नेता थापाले झलनाथ खनाल, प्रदीप नेपाल, सुरेन्द्र मानन्धर, वसन्त मानन्धर र कृष्ण खनालको नाम हट्ने दाबी गरे ।

थापाले लेखेका छन्, इतिहासको अभिलेखमा विभाजनकारीहरूको नाम – कमरेडहरू झलनाथ खनाल, प्रदीप नेपाल, सुरेन्द्र मानन्धर, वसन्त मानन्धर, कृष्ण खनालसहित धेरै नेताको नाम यहाँबाट हट्दै जानेछ । प्रतीक्षा गरौं र अरू इमान्दार व्यक्तिले पनि कमरेड प्रदीपले झै घोषणा गर्नेछन् । आशा पनि गरौं ।’

प्रतिक्रिया दिनुहोस