आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, सांकेतिक भाषाको महत्व र अवस्था

एपी खबर २०७८ आश्विन ७, बिहिबार (२ साल अघि) १११७ पाठक संख्या

काठमाडौँ । आज २३ सेप्टेम्बर अर्थात् अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस । संसारभर सांकेतिक भाषाको महत्त्व बुझाउन तथा सबैमा यसबारे जागरुक गराउन संयुक्त राष्ट्रसंघको महासभाबाट यसले मान्यता पाएको थियो । २३ सेप्टेम्बरकै दिन यस दिवस मनाउनुको कुनै विशेष कारण नभए पनि २३ सेप्टेम्बर १९५१ का दिन विश्व बहिरा महासंघको स्थापना भएकाले यसै दिनलाई आधार मानेर अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउन सुरु गरिएको हो ।

बहिराको अन्तर्राष्ट्रिय सप्ताहकोे भागको रूपमा सन् २०१८ मा पहिलो पटक अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइएको थियो । पछि १९ डिसेम्बर २०१९ मा विश्व बहिरा महासंघले यस दिवसका लागि पहिलो पटक संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेस गरेको थियो ।

सांकेतिक भाषाहरू संरचनात्मक रूपमा बोल्ने भाषाभन्दा फरक छन् । तर पनि सांकेतिक भाषा आफैँमा पूर्ण प्राकृतिक भाषा पनि हो । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिले पनि सांकेतिक भाषाहरूको प्रयोगलाई स्वीकार गर्नुका साथै प्रोत्साहनसमेत गरेको छ ।

संयुक्त राष्ट्रसंघले दिएको मान्यता र विभिन्न महासन्धिले यसको अस्तित्वलाई स्वीकार गर्नुले नै बोलिने भाषाहरू र सांकेतिक भाषा दुवै बराबर रहेको प्रमाणित गरिसकेको छ । विश्व बहिरा महासंघका अनुसार संसारभर करिब सात करोड २० लाखभन्दा बढी बहिरा मानिसहरू रहेका छन् । यीमध्ये ८० प्रतिशतभन्दा बढी बहिराहरू विकासशील राष्ट्रमा रहेका तथ्यांक छ ।

बहिरा नागरिकलाई हक अधिकार प्रदान गर्ने सन्दर्भमा नेपालको कानूनी ब्यवस्था त्रुटिपुर्ण रहेको भन्दै बहिरा महासंघले संशोधनको माग गर्दै आएको छ । बहिरामैत्री पाठयक्रम र पाठयपुस्तक नभएको पनि उनीहरुको गुनासो छ । जनगणना २ हजार ६८ का अनुसार १ दशमलव ९४ प्रतिशत नेपालीमा कुनै न कुनै किसिमको अपांगता छ । त्यसमध्ये १५ दशमलब ५ प्रतिशत व्यक्ति बहिरा तथा सुस्त श्रवण अपांगता भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस