आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कर्मचारीको आन्दोलनपछि जानकी मेडिकल कलेजका सबै सेवा ठप्प

एपी खबर २०७७ आश्विन २४, शनिबार (३ साल अघि) ५५० पाठक संख्या

जनकपुरधाम : कर्मचारीहरुसँग विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरु ठप्प गरिएको छ ।

 

कर्मचारीहरुको निरन्तरको आन्दोलनका कारण मेडिकल कलेजको आकस्मिक बाहेकका सबै सेवाहरु विगत करिव दुई हप्तादेखि ठप्प भएको हो । कर्मचारीहरुले कलेज प्रशासन विरुद्ध धर्ना बसेपछि आकस्मिक बाहेकका सबै सेवाहरु ठप्प भएको कर्मचारी हकहित संरक्षण संघर्ष समितका संयोजक उमेश यादवले जानकारी दिए ।

 

कलेज प्रशासनले विगतमा गरेका सम्झौताहरु अझै कार्यान्वयन नगरेको भन्दै कर्मचारीले आकस्मिक बाहेकका सबै सेवाहरु असोज १२ गतेदेखि नै ठप्प गरेका छन् । उनीहरुले कलेजले आफुहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दशैं खर्च र नियमित तलब भत्ता दिनुपर्नेलगायतका मागहरु राख्दै धर्नामा बसेका छन् ।

 

विगतमा पटक पटक गरेका सहमतिहरु अस्पताल पक्षले कार्यान्वयन नगरी उल्टै प्रहरी प्रशासन लगाएर आफुहरुलाई धम्काउने गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको संयोजक यादवले बताए ।

 

यसअघि भदौ १५ गते उनीहरुले कलेजको शैक्षिक प्रशासनमा तालाबन्दी समेत गरेका थिए । भदौ २६ गते मेडिकल प्रशासनका बरिष्ठ अधिकृत दयानन्द झाले कर्मचारी विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि ३१ गते दुबैपक्षबिच छलफल भई ३ बुँदे सहमति भएको थियो । सहमति अनुसार असोज १ गतेदेखि कलेजको ताला खोली सेवा सुचारु गर्ने, असोज ४ गते हरहिसाब गर्ने र असोज ३० भित्र कर्मचारीको सबै समस्या समाधान गर्ने गरि कलेज प्रशासन र कर्मचारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

 

तर, सहमति अनुसार कार्यान्वयन गर्नुपर्नेमा कलेज प्रशासनले हरहिसाब नै नगरी उल्टै असोज ११ गते संघर्ष समितिका संयोजक यादवलाई पूर्वाग्रही तरिकाले स्पष्टीकरण सोधेपछि १२ गतेदेखि जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैयाका १ सय १५ जना कर्मचारी आकस्मिक बाहेकका सबै सेवा बन्द गरी निरन्तर धर्नामा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस