आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सा, बारा र रौतहटमा भोलिदेखि नयाँ ऐनअनुसार नागरिकता वितरण गरिने

एपी खबर २०८० जेष्ठ २१, आईतबार (११ महिना अघि) ८५ पाठक संख्या

पर्सा, बारा र रौतहटमा सोमबारदेखि नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण सुरू हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। देशभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न परिपत्रसमेत भइसकेको छ।

 

आइतबारबाटै नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न भनिए पनि पर्सा, बारा र रौतहतमा सोमबारदेखि मात्रै नागरिकता वितरण गरिने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्।

 

जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना जारी गरी नयाँ नागरिकता ऐनअनुसार सोमबारबाट नागरिकता वितरण गरिने जनाएको छ। नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा ३ र ८ बमोजिम नेपालको नागरिकता प्राप्त गर्न चाहिने कागजातहरु संलग्न राखी जेठ २२ गते कार्यालयमा सम्पर्क राख्न जिल्ला प्रशासन कार्यालयले भनेको छ।

 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा नयाँ नागरिकता ऐनअनुसार नागरिकता प्राप्त गर्नको लागि चाहिने कागजातहरुको विवरणसमेत उल्लेख गरिएको छ।

 

नागरिकता प्राप्त गर्नका लागि निवेदकले वडाध्यक्षको सिफारिससहितको अनुसूची १ को फारम, बाआमाको सक्कल नागरिकता र फोटोकपी, सक्कल जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रलगायतका कागजातहरु चाहिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए। उनले सम्पूर्ण तयारी पूरा भएको र सोमबारदेखि नागरिकता वितरण गरिने बताए।

 

‘हामीले सूचना जारी गरिसकेका छौँ। नयाँ ऐनअनुसार सोमबारबाट नागरिकता वितरण हुने भनेर,’ उनले भने, ‘आज चाहिँ वडाहरुमा सिफारिस हुने कामहरु भइराखेका छन्। भोलिदेखि नयाँ ऐनअनुसार नागरिकता वितरण गर्छौँ।’

 

यस्तै, बारा जिल्लामा पनि नयाँ नागरिकता ऐनअनुसार चाँडै नागरिकता वितरण गरिने भएको छ। बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले आइतबारदेखि नै वितरण गर्ने तयारी भए पनि थप केही तयारीहरु गर्नुपर्ने भएकाले साँझसम्म सूचना जारी गरेर छिटै नागरिकता वितरण गरिने जानकारी दिए।

 

उनले गृह मन्त्रालयबाट परिपत्र आइसकेकोले नयाँ नागरिकता ऐनअनुसार चाँडै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने गरी सूचना जारी गर्न लागेको बताए।

 

‘हामी सम्भवतः आजै साँझसम्म सूचना जारी गरी सूचित गर्छौँ, नयाँ ऐनअनुसार नागरिकता वितरण गर्नेबारेमा। त्यसको लागि सिडिओ साहेबले पनि तयारी गरिरहनु भएको छ,’ उनले भने, ‘आइतबार नै मानिसहरु नयाँ ऐनअनुसार नागरिकता कहिलेदेखि पाइन्छ भनि सोध्न आइरहनुभएको छ, अब सूचना जारी गरेर चाँडै वितरण गर्छौँ।’

 

यसैगरी, रौतहटमा पनि सोमबारबाट नै नयाँ ऐनअनुसार नागरिकता वितरण गरिने भएको छ। आइतबार आवश्यक तयारी पूरा गरी सूचना जारी गरेर सोमबार नै नागरिकता वितरण गरिने रौतहटका सहायक प्रमुख जिल्ला अधिाकारी मणिभूषण साहले जानकारी दिए।

 

नयाँ ऐनअनुसार चाहिने कागजातहरुको बारेमा जिल्लाका सबै पालिका र वडाहरुमा पत्र पठाइएर जानकारी गराइने र त्यसपछि सोमबारबाट नागकिरता वितरण हुने उनले बताए।

 

‘आजबाट नयाँ नागरिकता ऐनअनुसार वितरण गर्न सकिएन। सोमबारबाट हामी वितरण गर्छौँ,’ उनले भने, ‘नयाँ ऐनअनुसार नागरिकता पाउन चाहिने कागजहरुको बारेमा सबै पालिका र वडामा पत्र पठाउने कामहरु साँझसम्म गरेर भोलिबाट नागरिकता वितरणको कार्य हुनेछ।’ साहले आइतबार नै नयाँ ऐनअनुसारको सूचना जिल्ला प्रशासन कार्यालयले जारी गर्ने पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस