आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आयल निगम अम्लेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर पार्किङ्गमा समस्या

एपी खबर २०८० चैत्र १, बिहिबार (१ महिना अघि) १४० पाठक संख्या

बारा : नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर पार्किङ्गमा समस्या देखिएको छ । इन्धन लिन देश भर बाट दैनिक सयौँको संख्यामा आउने ट्याङ्करहरुको पार्किङ्गमा समस्या भएको हो । २०७६ भदौ २४ गतेदेखि पाइपलाइनबाट डिजल आयात हुन थालेपछि निगमको अम्लेखगञ्ज डिपोबाट हुने बिक्रीबाहेक पनि विराटनगर, जनकपुर, भैरहवा, पोखरा तथा काठमाडौँ सम्मका कार्यालयहरुका लागि आवश्यक डिजल अम्लेखगञ्जबाट लोड भएर जाने गर्दछ । हाल डिजल बोकेका ३ सय ट्याङ्कर दैनिक निगमको अम्लेखगञ्ज डिपोबाट छुट्ने गर्दछन् ।

 

पछिल्लो समय मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम धमाधम भइरहेकाले केही महिना भित्र पाइपलाईन बाट पेट्रोल र मट्टीतेलसमेत आउँछ । जसका कारण ट्याङ्कर पार्किङ्गमा झनै ठुलो समस्या हुने देखिन्छ ।आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख विनितमणी उपाध्यायले निकट भविष्यमै डिजल र पेट्रोल लिन दैनिक ठुलो संख्यामा ट्याङ्करहरु अम्लेखगञ्ज आउने भएकाले अहिलेकै ठाउँमा पार्किङ्ग सम्भव नहुने बताए । निगमलाई पेट्रोलियम ट्याङ्कर पार्किङ्गमा अहिले नै धेरै समस्या भएको छ, अब केही महिनापछि पाइपलाइनबाट पेट्रोल आउन थालेपछि झनै गाह्रो हुने उपाध्यायले बताए । उनकाअनुसार जग्गाको व्यवस्थापन गरिदिन निगमले जीतपुरसिमरा महानगरसँग लिखित र मौखिक रुपमा पटक पटक अनुरोध पनि गरेको र यो विषयमा एक पटक छलफल पनि भएता पनि कुनै टुङ्गो लाग्न नसकेको बताए ।

 

 

निगमले उपमहानगरलाई पत्र पठाएर अम्लेखगञ्जमा ३ देखि ४ बिघा जग्गा उपलब्ध गराइदिन अनुरोध गरेको छ । हाल आयल निगम अम्लेखगञ्ज डिपोको दक्षिणपट्टी रहेको करिडोरमा पार्किङ्ग गरिरहे पनि पछि नयाँ निर्माण भएको डिपोसम्म आउन–जान यही करिडोर प्रयोग गर्नुपर्ने भएकाले ट्याङ्कर पार्किङ्गकालागि समस्या हुनसक्ने निगमको जिकिर छ । जीतपुर सिमरा उपमहानगरपालिका नगरप्रमुख राजन पौडेलले निगमको ट्याङ्कर पार्किङ्गका लागि जग्गा खोजी भइरहेको र यस बारे वडा नं २१ र २२ का वडाध्यक्ष संग खाली सरकारी जग्गाको बारेमा छलफल भईरहेको बताए । हाल पेट्रोलियमपदार्थ लोड भएकावा खाली ट्याङ्करहरु अम्लेखगञ्ज आसपासका स्थानीयहरुको घरआँगन, सडक, पेटीमा पार्किङ्ग हुँदै आएको छ । अति प्रज्वलनशील पदार्थ बोकेका ट्याङ्करहरु यसरी जथाभावी पार्किङ्ग गर्दा जुनसुकै बेला ठुलो दुर्घटना निम्तिन सक्ने देखिन्छ ।
हाल दैनिक २५० देखि ३ सय वटा ट्याङ्कर अम्लेखगञ्जमा आवतजावत गर्दछन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस