आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगंजमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना निर्माण अन्तरक्रियात्मक छलफल

AuthorAP Khabar२०८० चैत्र २१, बुधबार (१ महिना अघि) १२८ पाठक संख्या

वीरगंज : वीरगंजमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना निर्माण अन्तरक्रियात्मक छलफल संचालन भएको छ । युनिसेफसँगको सहकार्यमा वीरगंज महानगरपालिकाले जन्मदर्ता र बाल संरक्षण सेवामा केन्द्रित भएर बालविवाह अन्त्य गर्न रणनीतिक कार्ययोजना निर्माण अन्तरक्रियात्मक छलफल संचालन गरेको हो । छलफलको सुरुवातमा बाल संरक्षण, जन्मदर्ता प्राप्त गर्ने तथा नगर्ने बालबालिकाको तथ्याँक र बालविवाहको विषयमा तयार पारिएको सामग्री प्रस्तुत गरिएको थियो । छलफलका बिच बाल संरक्षणका लागि वीरगंज महानगर र युनिसेफ विच साझेदारी भएको युनिसेफका बाल संरक्षण अधिकृत कामदेव खनालले जानकारी गराएका थिए ।
छलफलका क्रममा पालिकामा बालविवाहको पछिल्लो अवस्था, बालविवाह रोक्न पालिकाले गरेको प्रयास, आइपर्ने चुनौती, बालविवाह अन्त्य गर्न अवसर र संभावनाका विषयहरु समेटिएका थिए । सहभागिहरुले सरकारी जागिर, सरकारी सेवा सुविधाको अपेक्षा वा अन्य बाहनामा जन्मदर्तामा उमेर घटबढ गराउने परिपाटीले थप समस्या भएको भन्दै बच्चा जन्मेकै अस्पतालले तत्कालै जन्मदर्ता गर्ने र त्यसैलाई मान्यता दिने व्यवस्था भए धेरै समस्या समाधान हुने धारणा राखेका थिए । बालविवाह रोक्ने प्रयास गर्दा भोगेको अनुभवहरु सुनाउँदै सक्रियताका साथ तर्क तथा सुझावहरु राखेका थिए ।

छलफलमा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरु, प्रति वडा ३ जनाका हिसाबले १० वटा वडाबाट ३० जना स्वयंसेवक युवायुवतीहरु सहभागि भएका थिए । छलफलमा सहभागि भएका वडा नं. २, ३, १६, १७, १९, २३, २४, २५, २९ र ३२ का स्वयंसेवकहरुले सम्बन्धित वडाका घरघरमा पुगेर बालविवाह विरुद्धको जनचेतनामुलक रेडियो सन्देश बजाएर सुनाउने साथै जन्मदर्ता नभएका बालबालिकाहरुको विस्तृत विवरण भर्नेछन् । यसरी आएका विवरणका आधारमा जन्मदर्ता अभियान संचालन गर्ने तयारी गरिएको वीरगंज महानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रन्जना पंडितले जानकारी दिइन् ।

सोहि विषयमा केन्द्रित भएर वीरगंजमा बालविवाह अन्त्य गर्न भोली विहिबार सम्बन्धित वडाका जनप्रतिनिधी तथा महानगरका शाखा प्रमुखहरुको सहभागितामा छलफल गरे पश्चात् बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजनाको मस्यौदा तयार गरिने वीरगंज महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस