आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगंज बालविवाह अन्त्यका लागि ५ वर्षे रणनीतिक कार्ययोजना निर्माणमा जुट्दै

एपी खबर २०८० चैत्र २३, शुक्रबार (४ हप्ता अघि) ११७ पाठक संख्या

वीरगंज: वीरगंज महानगरपालिकाले बालविवाह अन्त्यका लागि ५ वर्षे रणनीतिक कार्ययोजना निर्माण हेतु अन्तरक्रियात्मक छलफल सम्पन्न गरेको छ । युनिसेफसँगको सहकार्यमा वीरगंज महानगरपालिकाले जन्मदर्ता र बाल संरक्षण सेवामा केन्द्रित भएर बालविवाह अन्त्य गर्न रणनीतिक कार्ययोजना निर्माण अन्तरक्रियात्मक विहिबार छलफल संचालन गरेको हो ।

 

छलफलका क्रममा बाल विवाह अन्त्यका लागि बनेका कानुन कार्यान्वयनमा सामाजिक कानुन र परम्परागत अभ्यास बाधक रहेकोले स्थानिय सरकारले चाँडै रणनीति बनाएर कार्यान्वयनमा जानुपर्ने निचोड निस्किएको छ । ३२ वटै वडाका वडाध्यक्ष तथा महानगरका सम्बन्धित शाखा प्रमुखहरुको सहभागितामा सम्पन्न छलफलले बालविवाह विरुद्ध रणनीतिक कार्ययोजनाको मस्यौदा तयारीका लागि मार्ग प्रशस्त गरेको प्रमुख प्रशासकिय अधिकृत मातृका भट्राईले बताए ।

 

उनले सहभागि वडाध्यक्षहरुले बालविवाह अन्त्य गर्न तथा जन्मदर्ता अनिवार्य रुपमा बनाउन सचेत गर्न शिक्षा नीति सुधार्नुपर्ने भनेर दिएको सुझावलाई आगामि वर्ष स्थानिय पाठ्यक्रम निर्माणका क्रममा समेट्ने प्रतिवद्धता जनाए । प्रमुख प्रशासकिय अधिकृत भट्राईले छलफलका क्रममा जन्मदर्ता सम्बन्धि वडा सचिवहरुमा नीतिगत असमञ्जसता रहेकोले समस्या भएको विषय उठेको भन्दै यो समस्या समाधानका लागि ३२ वटै वडा समेटेर अभिमुखिकरण कार्यक्रम गर्ने बताए ।

 

जन्मदर्ता नहुँदा एउटा नागरिकले जिवनभर परिचय विहिन भएर बस्नुपर्ने विषयलाई समान्य रुपमा लिन नहुने भन्दै बाल संरक्षणको पाटोमा कार्य गर्न वीरगंज महानगर र युनिसेफ विच साझेदारी भएको युनिसेफका बाल संरक्षण अधिकृत कामदेव खनालले जानकारी गराए । उनले मधेशप्रदेशमा जन्मदर्ता भएका र नभएका बालबालिकाको संख्यागत जानकारी सहित बालविवाहको विषयमा तयार पारिएको सामग्री प्रस्तुत गरेका थिए । तथ्याँकले मधेशमा बालविवाहको दर सबैभन्दा बढि रहेको त्यसमा पनि बालक भन्दा तेब्बर बढि बलिकाको वालविवाह हुनेगरेको देखाएको उनले जानकारी गराए ।

 

कार्यक्रममा वीरगंज महानगरमा जन्मदर्ताको दर, आइपरेका समस्या, समाधानका लागि अवलम्वन गरेका नीतिगत प्रकृयाहरु समेटेर तयार पारिएको सामग्री सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख वुद्धिमाया थापाले प्रस्तुत गरेकी थिइन् । युनिसेफसँगको सहकार्यमा महानगरले वडा नं. २, ३, १६, १७, १९, २३, २४, २५, २९ र ३२ मा बाल संरक्षणका लागि काम गर्दैछ ।

 

 

यसको सुरुवातमा प्रतिवडा ३ जनाका दरले वडाले सिफारिस गरेका स्वयंसेवकहरुले सम्बन्धित वडाका घरघरमा पुगेर बालविवाह विरुद्धको जनचेतनामुलक रेडियो सन्देश बजाएर सुनाउने साथै जन्मदर्ता नभएका बालबालिकाहरुको विस्तृत विवरण भर्नेछन् । यसरी आएका विवरणका आधारमा जन्मदर्ता अभियान संचालन गर्ने तयारी गरिएको वीरगंज महानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पंडितले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस