आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनप्रतिनिधिको हुकुमी शासन: सहमतिविपरीत व्यक्तिको जग्गामा जबर्जस्ती बाटो

एपी खबर २०८१ बैशाख १३, बिहिबार (१ हप्ता अघि) ७२ पाठक संख्या

बारा – मधेश प्रदेशको बारा जिल्लास्थित कोल्हवी नगरपालिका–१० बेल्ह्वाका केही किसानको व्यक्तिगत जग्गामा सहमतिविनै कृषि सडक खोलिएको छ । स्थानीय रामप्रित चौधरीसहित केही व्यक्तिको निजी जग्गामा गत चैत २६ गते रातारात कृषि सडक खोलिएपछि विवाद भएको हो । ‘चैत २६ गते राति खेतमा टिपर ल्याएर बाटोका लागि माटो हालेछ’ रामप्रितका छोरा डा. समिर चौधरीले फोनसम्पर्कमा भने, ‘त्यो कुरा बुबाले थाहा पाउनुभएछ ।

 

 

खेतमा जानु भो । त्यसपछि हटाउन लगाउनुभयो । झण्डै द्वन्द्व नै भएको थियो ।’ उनका अनुसार एक वर्षअघिबाटै बाटोका लागि माग गरेको भए पनि आफूहरूले सहमति जनाएका थिएनौँ । ‘एक्कासि रातरात टिपर लगाएर बाटो बनाएछन्’–उनले भने उनका अनुसार उक्त जग्गा बुबाले आफ्नो नाममा नामसारी गरिदिएका थिए । पीडित पक्षले कोल्ह्वी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीलाई सम्बोधन गर्दै वैशाख ३ गते निवेदनसमेत दिएका थिए ।

 

 

उक्त सडक निर्माणका लागि टिकुलिया कृषि सडक उपभोक्ता समिति गठन भएको थियो । उक्त समितिले जानकारी नै नगराई रामप्रित चौधरीसहित राधेकृष्ण चौधरी, चन्द्री देवी, कैलाशपति चौधरीको निजी जग्गाबाट बाटो लगिएको हो । डा. चौधरीका अनुसार १० नम्बर वडा सदस्य मनोज साहको व्यक्तिगत स्वार्थमा बाटो निर्माण गरिएको छ । उक्त क्षेत्रमा साहको पनि १० कठ्ठा जग्गा रहेकाले बाटो निकालेपछि मूल्य बढ्ने भन्दै जबर्जस्ती ढङ्गले असहमति हुँदाहुँदै बाटो निकालेको उनको भनाइ छ ।

 

 

यता वडा सदस्य साहले गाउँलेहरू सबै जनालाई सहमति गराएरै बाटो निकालिएको दाबी गरे । उनले फोन सम्पर्कमा भने, ‘गाउँभरिको मान्छेले निर्णय गरेको हो । पाँच–छ महिनाअगाडि नै निर्णय भएको थियो ।’ उनका अनुसार बाटो निर्माण गर्ने कार्य रातमा नगरी बिहानको ८ बजेबाटै सुरु गरेका थियौँ । उनले भने, ‘बिहानको ८ बजेदेखि नै लगाएको हो । काम गर्दै जाँदा राति हुनसक्छ नि !’ उनले आफ्नो जग्गामा यसअघि नै सडक निर्माण भइसकेको दाबी गरे । ‘मेरो खेतको अगाडिसम्म बाटो छ, अलरेडी आधी बाटो छ । मलाई सरोकार नै भएन । खेतीपाती गर्नका लागि सजिलो हुन्छ भनेर खोलिएको हो ।’

 

रातको समयमा बाटो खोलिएपछि विवाद उत्पन्न भएको स्थानीय बताउँछन् । द्वन्द्व सिर्जना हुने भन्दै इलाका प्रहरी कार्यालय कोल्ह्वीका इन्स्पेक्टर भोलामान सिंहको नेतृत्वमा प्रहरी पुगेको थियो । इन्स्पेक्टर सिंहले ब्लाष्टकर्मीसँगको फोनसम्पर्कमा भने, ‘बाटो निकाल्न खोजेको रहेछ । विवाद भएपछि हामी पुग्यौँ ।’ उक्त स्थानमा रामप्रितको २ बिघा ६ कठ्ठा जग्गा रहेको छ । बाटोमा करिब तीन कठ्ठा जाने रहेछ । बाटोका कारण सिँचाइ गर्दा डुबान हुने भएकाले जग्गाधनीले सहमति नजनाएको देखिएको इन्स्पेक्टर सिंहले बताए । हाल निर्माण गर्न लागिएको बाटो क्षेत्रमा खेत मात्रै रहेको छ । उक्त कृषि सडकको लम्बाइ करिब ८ सय मिटर रहेको छ ।

 

 

यता यस विषयमा विवाद उत्पन्न भएपछि हाल सडक निर्माण गर्ने काम बन्द भएको छ । विवाद उत्पन्न भएपछि के भएको हो भनेर आफूले अनुगमन गरेको कोल्ह्वी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीले जानकारी दिए । उनले फोन सम्पर्कमा भने, ‘विवाद भएपछि अनुगमन गर्यौँ । दुई पक्षलाई नै राखेर वैशाख ४ गते मिटिङ पनि गरेँ । अहिले काम बन्द भएको छ ।’ उनले पनि व्यक्तिको जग्गामा सडक निर्माण गर्दा सहमति लिनुपर्ने भए पनि वडाले आफ्नै हिसाबमा काम गरेको जस्तो देखिएको बताए ।

 

 

वडाले कम्तिमा सहमति लिनुपर्ने थियो । समितिले केही सल्लाह गरेनछ । त्यसले गर्दा दुई पक्षबीच विवाद देखियो’–उनले भने । उनले सामान्य हिसाबमा विवाद टुङ्गो नलागे न्यायिक प्रक्रियाद्वारा समस्या समाधान गर्नेतर्फ लाग्ने बताए । ‘दुई पक्षलाई मिलाउने हो । मिलेन भने न्यायिक निकाय छ । प्रक्रियामा जान्छ’ –उनले भने ।

प्रतिक्रिया दिनुहोस