काठमाडौं , पौष २५ : राजधानीको मुटु न्यूरोडको पीपलबोट छेवैमा रहेको छ, एक सानो पार्क । हेर्दा सानो भए पनि इतिहासको ठूलो हिस्सा बोकेको छ यो पार्कले । तर जब तपाईं पार्कभित्र प्रवेश गर्नुहुन्छ, ज्यादै नमीठो अनुभूति सँगालेर फर्किनुहुन्छ ।
भूगोलपार्क, १९९० सालको भूइँचालोमा ज्यान गुमाएका हजारौँ नेपालीको सम्झनाको प्रतीक हाे । भूइँचालोमा जनधनको असंख्य क्षति भएपछि तत्कालीन सरकारले जनताको ऋण मिनाह गरिदिएको एक जिउँदो इतिहास, भूगोलपार्क । तर कुनै समय नेपालका साहित्यकारहरुको जमघट हुने र रचना वाचन गरिने मुख्य थलो रहेको यो पार्क अचेल बस्नलायक छैन ।
तपाईं पार्क प्रवेश गर्दा गेटबाटै देख्नुहुनेछ स्मारक वरिपरिको दृश्य । जताततै स्याउला, धूलो र फोहोर । एकैछिन्अघिको तपाईंको उत्सुकता अलिक कमजोर बन्दै जानेछ अनि बिस्तारै पाइला बढाउनुहुनेछ । न्यूरोडको ठेलमठेलमा हिँड्दै गर्दा थकित तपाईंको शरिर केही सुस्ताउन चाहनेछ तर स्मारकसँगै अडेस लागेर बस्न बनाइएका ठाउँ तपाईं रोज्न सक्नुहुने छैन । रुखबाट चराले बिस्ट्याएकाे केही निकै पुरानोदेखि ताजा बिस्टासँगै झारपात र धूलो हेर्दै खुट्टा खुम्च्याउनुबाहेक त्यहाँ अर्काे विकल्प हुनेछैन ।
तपाईं घुम्नुहुनेछ स्मारक वरिपरि, शिलालेख पढ्दै । २०९० सालको भूकम्पपछि पीडामा रहेका जनताको घाउमा मल्हम लगाउन सरकारले त राम्रै गरेछ ! मख्ख पर्नुहुनेछ तर, स्मारकका सिंगमर्मर फुट्दै गएका दृश्यले मन पक्कै अमिलो बनाउनेछ ।
अलिक पर बगैँचा बनाइएको छ । मान्छेले दुबो मारिदेलान् भनेर बारिएको पनि छ तर दुबो फस्टाउन सकेको छैन । बस्नका लागि बेन्चहरु राखिएका छन् तर पुछपाछ नगरी बस्न सकिने अवस्था छैन ।
अब तपाईंको नजर स्मारकमै लेखिएका बडेमानका अक्षरतिर जानेछ, ‘भूगोलपार्क संरक्षण समिति ।’ यतिबेला चाहिँ तपाईंको मथिङ्गलमा स्वाभाविक प्रश्नचिह्न खडा हुनेछ । के गर्दैछ समिति ? यत्रा बडेमानका अक्षरले आफ्नो अस्तित्व खोज्ने समितिले किन सफाइसम्म गर्न सक्दैन ? कि समितिका नाममा व्यक्ति मोटाउने प्रवृत्ति यहाँ पनि हावी छ ?
समाचार
प्रतिक्रिया दिनुहोस