आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सामा बिहीबार मृत्यु भएका दुवै जनामा कोरोना संक्रमण पुष्टि

एपी खबर २०७७ श्रावण ३०, शुक्रबार (३ साल अघि) ४८१ पाठक संख्या

वीरगञ्जवीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएका दुई पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएका मृतक दुवै बाराका हुन् ।

बाराको प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय दिनेशप्रसाद कलवारको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान साढे ८ बजे मृत्यु थियो ।

४-५ दिनदेखि ज्वरो र खोकीको समस्याले ग्रसित कलवारलाई बुधबार राति दमका कारण श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको बिहीबार राति मृत्यु भएपछि स्वाब संकलन गरिएको थियो ।

बिहीबार बेलुका नारायणी प्रयोगशालाबाट प्राप्त रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले बताए । उनले भने–‘मृतकमा कोरोनाको शंका लागेर स्वास संकलन गरी परीक्षणको लागि पठाईएको थियो र उनको रिपोर्ट पोजेटिभ आएको छ ।’

यस्तै नारायणी अस्पतालमै उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका अर्का बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ सिमराका ५० वर्षीय शेख समिमुल हकमा पनि कोरोना संक्रमण पुष्टि भएको डाक्टर सिंहले बताए ।

ज्वरो र खोकी लागेका हकलाई बुधबार दिउँसो उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा लगेर भर्ना गरिएको थियो । तर, त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि मेडिकल कलेजले नारायणी अस्पतालमा रेफर गरेको थियो ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बुधबार साँझ ६ बजे उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र बिहीबार बिहान उनको मृत्यु भएको डाक्टर सिंहले जानकारी दिए । मृत्यु पश्चात स्वाब संकलन गरि पीसीआर जाँच गर्दा उनको पनि रिपोर्ट पोजेटिभ नै आएको डाक्टर सिंहले बताए ।

योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । साउनमा मात्रै २१ जनाको मृत्यु भएको हो । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २५ मध्ये पर्साका १८, बाराका ५, रौतहटका १ हुन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा वेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान हुन् सकेको छैन ।

मृतकहरू अधिकांश दीर्घ रोगी तथा अन्य कुनै रोगले ग्रसित स्वास्थ्य समस्या भएका देखिएको छ ।

आज बिहान नारायणी अस्पतालको प्रयोगशालाले जारी गरेको पीसीआर रिपोर्टमा पनि थप ५० जना कोरोना संक्रमित भेटिएका छन । संक्रमितमध्ये नारायणी अस्पतालकै एनआईसीयुका एकजना चिकित्सकसहित थप ८ जना स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन ।

त्यसैगरी भारतीय महावाणिज्य दुतावासका एकजना कर्मचारी, सेक्युरेटी गार्डमा काम गर्ने ३ जना गार्ड, वीरगञ्ज महानगरपालिकाको श्रीपुर, घडिअर्वा, पानीटंकीका केहि व्यक्तिमा समेत संक्रमण भेटिएको छ । ५ जना सशुल्क परिक्षण गराएका व्यक्तिमा समेत संक्रमणको पुष्टि भएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणमा बाराको जितपुर सिमराको विभिन्न वडाका १९ जनामा, बाराकै विश्रामपुर गाउँपालिकामा एकजना, महोत्तरीको जलेवरका चार वर्षीयसहित दुईजनामा कोरोना संक्रमणको पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. मदन उपाध्यायले जानकारी दिए ।

योसँगै पर्सा जिल्लामा मात्र कोरोना संक्रमितको संख्या ११ सय ७० पुगेको छ । जसमध्ये २४५ जना निको भएर घर फर्केका छन । संक्रमित मध्ये ८० जना स्वास्थ्यकर्मी, ५७ जना सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ जना कैदी थुनुवा, २३ जना अस्पताल सफाईकर्मी र १५ जना भारतीय नागरिक रहेका छन् ।

संक्रमित मध्ये १६७ जनालाई कोभिड अस्पताल गण्डक र वीरगन्ज हेल्थ केयर हस्पीटलमा राखेर उपचार गर्ने काम भईरहेको छ । अहिले पनि ७५८ जना संक्रमितलाई कोभिड अस्पतालमा पु¥याउन सकिएको छैन । संक्रमितलाई अस्पतालमा पु¥याउँन नसक्दा थप अन्य व्यक्तिमा समेत कोरोना संक्रमण फैलिएर भयावह स्थिती हुन सक्ने स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस